• Menu

चीनद्वारा अमेरिकी कर नीतिको चर्को विरोध, ‘विश्वव्यापी व्यापार प्रणाली ध्वस्त हुने र मन्दी निम्तिने खतरा’

नेपाल प्रफिट

२०८१ फागुन ८, ११:३७

चीनद्वारा अमेरिकी कर नीतिको चर्को विरोध, ‘विश्वव्यापी व्यापार प्रणाली ध्वस्त हुने र मन्दी निम्तिने खतरा’

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको व्यापक करले मुद्रास्फीति र बजार विकृति बढाउने तथा विश्वव्यापी मन्दी निम्त्याउने खतरा रहेको चीनले बताएको छ । विश्व व्यापार संगठन (डब्लूटीओ) मा मंगलबार चीनले अमेरिकी कर नीतिको चर्को विरोध जनाएको हो ।

जनवरी २० मा सत्तामा फर्किएपछि ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनलाई अमेरिका प्रवेश गर्ने उत्पादनमा थप १० प्रतिशत कर लगाएको घोषणा गरेका छन् । ट्रम्पले गत हप्ता स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ‘कारहरूमा करको दर थप २५ प्रतिशत हुनेछ,’ अप्रिल २ को आसपास सार्वजनिक गर्ने शुल्कको बारेमा नयाँ जानकारी दिँदै उनले भनेका छन् ।

विश्व व्यापार संगठनका लागि चीनका राजदूत ली चेङगाङले विश्व व्यापार संगठनको निर्णय लिने ‘जनरल काउन्सिल’को यस वर्षको पहिलो बैठकमा भने, ’विश्वले करका लागि शृंखलाबद्ध झट्काको सामना गरिरहेको छ ।’

अमेरिकाले विश्व व्यापार संगठनको नियमको ठाडो उल्लंघन गर्दै चीनलगायतका व्यापारिक साझेदारमाथि एकतर्फी र स्वेच्छाचारी रूपमा कर लगाएको वा धम्की दिएको उनले उल्लेख गरेका छन् । ‘चीनले यस्ता कदमको कडा विरोध गर्दछ,’ उनले भने, ‘करसम्बन्धी यस निर्णयले आर्थिक अनिश्चितता बढाउँछ, विश्वव्यापी व्यापारमा बाधा पुर्‍याउँछ र घरेलु मुद्रास्फीति, बजार विकृति वा विश्वव्यापी मन्दीको जोखिम पनि बढाउँछ ।’

लीले अमेरिकी एकपक्षीयताले नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई ध्वस्त पार्ने खतरा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्