संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् ।
अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्ग छ्याङ्कुटी-दिदिङ सडकखण्डको जग्गाको मुआब्जा वितरण गर्न थालिएको हो ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार छ्याङकुटी-दिदिङ सडकखण्डको २४.५ किलोमिटर अन्तर्गत चार सय ५४ रोपनी जग्गाको मुआब्जा वितरण थालिएको हो ।
अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गको छुट मुआब्जावापतको रकम हालसम्म चार करोड ८८ लाख पीडितको खातामा भुक्तानी भइसकेको प्रजिअ खड्काले बताए ।
खाँदबारी नगरपालिका-४, छ्याङ्कुटीदेखि चिचिला गाउँपालिका-२, दिदिङ सडकखण्डको पीडितले छुट मुआब्जाको माग गर्दै आएका थिए । २०८० साल वैशाख २६ गते छ्याङ्कुटी-दिदिङ सडकखण्डको छुट मुआब्जा प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रति रोपनी रु ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो ।
छ्याङकुटी-दिदिङ सडक खण्डको ९२४.५ किलोमिटर जग्गाको मुआब्जा २०४६ सालमा नै दिएको भए पनि छुट जग्गाको मुआब्जा जग्गाधनीले पाएका थिएनन् ।
गत माघ ९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला र सर्वदलीय बैठकको निर्णयानुसार प्रवेशमार्ग छयाङ्कुटी-दिदिङ सडकखण्डको जग्गाको मुआब्जा वितरण प्रक्रिया अघि बढाइएको हो ।
अरुण तेस्रो परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई सेयर दिने उल्लेख छ । अरुण तेस्रो परियोजनामा नेपाली तथा भारतीय नागरिकसहित चार हजार कामदार कार्यरत छन् ।