• Menu

धरहरा चढ्ने समय बढ्यो, एक करोड ५२ लाख राजस्व असुल

नेपाल प्रफिट

२०८१ माघ २९, १०:३४

धरहरा चढ्ने समय बढ्यो, एक करोड ५२ लाख राजस्व असुल

काठमाडौँ । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मंसिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो ।

यही माघ १४ गतेसम्म ३:१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४:१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत एक करोड ५२ लाख राजस्व संकलन भएको छ ।

गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक धरहराबाट यही माघ २४ गते बिहीबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम संकलन भएको निर्देशक अर्यालले बताए ।

प्रत्येक बुधबार धरहरा बन्द रहने भन्दै अन्य दिन आउने नागरिकको संख्या दैनिक एक हजार दुई सयको हाराहारीमा रहेको उनले जानकारी दिए ।

छिमेकी मुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् । धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति एक हजार शुल्क लाग्ने अर्यालले बताए ।

उनका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई धरहरा सञ्चालनमा ल्याइएको हो । गत मङ्सिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।

उक्त स्थानमा पार्किङ गर्दा चारपांग्रे सवारीका लागि प्रतिघण्टा २० र दुईपांग्रे सवारीका लागि १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार तोकिएको छ भने व्यावसायिक भिडिओ छायांकनका लागि प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार तोकिएको निर्देशक अर्यालले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्