एजेन्सी । भारतमा जारी महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू पुगेका छन् । यस प्राचीन तथा भव्य कार्यक्रमको आध्यात्मिक महत्वको अनुभव गर्दै त्रिवेणी संगममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागेको हो ।
उत्तर प्रदेश सरकारले आइतबार महाकुम्भमा सन् २०२५ मा करिब ८४ लाख २९ हजार भक्तजनले पवित्र स्नान गरेको बताएको छ । महाकुम्भ सन् २०२५ मा हालसम्म ४२ करोडभन्दा बढी भक्तजनले आस्थाको डुबुल्की लगाएको जनाइएको छ ।
महाकुम्भ सन् २०२५ विश्वको सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक कार्यक्रम हो, जसले विश्वभरका भक्तहरूलाई आकर्षित गरेको छ । महाशिवरात्रि अर्थात् फेब्रुअरी २६ सम्म यो कार्यक्रम चल्नेछ । यस कार्यक्रमले देश र विश्वभरबाट लाखौं भक्तजनलाई आकर्षित गरिसकेको छ ।
एक दिनअघि राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले त्रिवेणी संगममा पवित्र स्नान गरी भक्तहरूलाई प्रसाद दिएका छन् ।
‘महाकुम्भ सन् २०२५ को शुभ अवसरमा भक्तहरूलाई प्रसाद वितरण गरियो र उनीहरूको आशीर्वाद प्राप्त भयो,’ उनले ट्विट गरेका छन्, ‘त्रिवेणी संगमको आशीर्वाद हामी सबैमा सदा रहोस् । सबैको जीवन सुख, समृद्धिले भरिपूर्ण होस् । यही मेरो कामना छ ।’ संगममा पवित्र स्नानको क्रममा मुख्यमन्त्री भजनलाल शर्मा मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवसँगै थिए ।