एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) शनिबार दिल्ली राज्यको विधानसभा चुनावमा ऐतिहासिक जनादेश प्राप्त गर्दै २७ वर्षपछि सत्तामा फर्किएको छ । भाजपाले दुई तिहाई मत प्राप्त गर्दैगर्दा १५ वर्षदेखि दिल्लीमा शासन गरेको आम आदमी पार्टी (आप) भने नराम्ररी बढारिएको छ ।
दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहित आम आदमी पार्टी (आप) का कैयौँ शीर्ष नेताले आफ्नो गढबाट हार बेहोरेका छन् । भाजपा नेतृत्वको गठबन्धनले महाराष्ट्रको चुनावमा विजय हासिल गरेको र पार्टीले हरियाणामा विजय हासिल गरेको केही महिनापछि दिल्लीका जनताले भाजपाको पक्षमा दुई तिहाईभन्दा बढी सिटसहित प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएका छन् ।
भाजपाले दिल्लीमा ७० सिटमध्ये ४८ सिट जितेको छ भने आपले २१ सिटमा मात्र विजयी बनेको छ । संघीय राजधानी दिल्लीमा आफ्नो पुनरुत्थानको आशामा रहेको कांग्रेसले फेरि कुनै पनि सिट जित्न सकेन । सन् १९९८ देखि १५ वर्षसम्म दिल्लीमा शासन गरेको कांग्रेस विधानसभा चुनावमा प्रतिनिधित्वविहीन भएको हो ।
सुशासनको विजय : मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको विजयलाई ‘सुशासनको जित’का रुपमा व्याख्या गरेका छन् । उनले दिल्लीको विकास र जनताको समग्र जीवनस्तर उकास्न पार्टीले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
‘जनशक्ति सर्वोपरि छ ! विकासको जित हुन्छ, सुशासनको जित हुन्छ,’ उनले भने, ‘यो सानदार र ऐतिहासिक जनादेशका लागि म दिल्लीका मेरा प्रिय दिदीबहिनी र भाइहरूलाई नमन गर्दछु । यी आशिषहरू प्राप्त गर्न पाउँदा हामी नम्र र गौरवान्वित छौं ।’
दिल्लीको विकास गर्न, जनताको समग्र जीवनस्तर सुधार गर्न र विकसित भारत निर्माणमा दिल्लीको प्रमुख भूमिका सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता उनले जनाएका छन् ।
आपद्वारा हार स्वीकार
दिल्लीका मुख्यमन्त्री आतिशीले कालकाजीबाट जित हासिल गरका छन् भने आप नेता तथा पूर्व मुख्यमन्त्री केजरीवाल, पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, दिल्लीका मन्त्री सौरभ भारद्वाज, पूर्वमन्त्रीहरू सोमनाथ भारती र सत्येन्द्र जैन तथा पार्टी नेता अवध ओझा र दुर्गेश पाठकले चुनाव हारेका छन् ।
आप नेता केजरीवालले जनादेश स्वीकार गर्दै भाजपालाई विजयका लागि बधाई दिएका छन् । ‘केजरीवालले एक्समा पोस्ट गरिएको भिडियोमा भनेका छन्, ‘जनताको जनादेशलाई हामी अत्यन्त नम्रताका साथ स्वीकार गर्दछौं । म भाजपालाई यो जीतको लागि बधाई दिन्छु र मलाई आशा छ कि उनीहरूले ती सबै बाचाहरू पूरा गर्नेछन्, जसका लागि जनताले उनीहरूलाई मतदान गरेका छन् ।’
विगत १० वर्षमा स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा धेरै काम गरेको उनले बताए । ‘हामी रचनात्मक प्रतिपक्षको भूमिकामात्र निर्वाह गर्ने छैनौं, जनताको बीचमा रहेर जनताको सेवा गरिरहनेछौं,’ उनले भने, ‘हामी सत्ताका लागि राजनीतिमा आएका होइनौं, राजनीतिलाई जनताको सेवा गर्ने माध्यमका रुपमा लिएका छौं ।’
एक्जिट पोलले भाजपाको जित हुने देखाएको र पूर्वानुमानअनुसार नै यो नतिजा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।