• Menu

भारतमा एकै महिनामा साढे १८ हजार हुन्डाई क्रेटा बिक्री, ईभीमा पनि उच्च आकर्षण

नेपाल प्रफिट

२०८१ माघ २०, १२:२०

भारतमा एकै महिनामा साढे १८ हजार हुन्डाई क्रेटा बिक्री, ईभीमा पनि उच्च आकर्षण

काठमाडौं । भारतमा एकै महिनामा साढे १८ हजार हुन्डाई क्रेटा बिक्री भएको छ । जनवरी १७ मा सार्वजनिक भएको क्रेटा ईभीको माग वृद्धिका कारण भारतमा हुन्डाई क्रेटाले रेकर्ड बनाएको हो ।

विगतका महिनामा औसत १४-१५ हजार क्रेटा बिक्दै आएको भारतमा ईभी थपिएपछि एकै महिनामा १८ हजार ५२२ युनिट बिक्री भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । क्रेटा सन् २०१५ बाट उत्पादन सुरु भएको हो । क्रेटा ईभी सार्वजनिक भएको एक महिना नै भएको छैन ।

हुन्डाई मोटर इन्डियाका होलटाइम डाइरेक्टर तथा चिफ अपरेटिङ अफिसर (सीओओ) तरुण गर्गले क्रेटा ईभीले पनि निकै राम्रो प्रतिक्रिया पाउन थालेको बताए । ‘पेट्रोलियम पदार्थबाट चल्ने क्रेटाको माग उच्च नै छ, ईभी र पेट्रोलियम दुबैलाई मिलाएर पहिलो पटक यति ठूलो संख्यामा क्रेटा बिक्री गर्न सफल भएका छौं,’ उनले भने ।

हुन्डाई मोटर इन्डियाले सन् २०२५ को जनवरीमा मात्रै ६५ हजार ६०३ युनिट कार बिक्री भएको जनाएको छ । त्यसमध्ये ५४ हजार ३ युनिट कार भारतमा बिक्री गरिएका हुन् भने ११ हजार ६ सय निर्यात गरिएको हो ।