• Menu

मंसिरमा भन्दा पुसमा बढ्यो महँगी, राष्ट्र बैंक भन्छ‑ लक्ष्यभन्दा कम

नेपाल प्रफिट

२०८० माघ २३, १६:४२

मंसिरमा भन्दा पुसमा बढ्यो महँगी, राष्ट्र बैंक भन्छ‑ लक्ष्यभन्दा कम

काठमाडौं । कात्तिक र मंसिरमा घटेको महँगी पुसमा बढेको छ । असोजमा ७.५ प्रतिशत रहेको महँगी कात्तिकमा घटेर ५.३८ र मंसिरमा ४.९५ प्रतिशतमा झरे पनि पुसमा बढेको हो ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार पुसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले भने मौद्रिक नीतिमा लिएको लक्ष्यभन्दा मुद्रास्फीति कम नै रहेको जनाएको छ ।

मुद्रास्फीति गत आर्थिक वर्षको पुसको भन्दा कम हो । आर्थिक वर्ष २०७९/८० पुसमा वार्षिक बिन्दुगत मुद्रास्फीति ७.२६ प्रतिशत थियो ।

तथ्यांकअनुसार गैरखाद्य तथा सेवा क्षेत्रभन्दा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति उच्च छ । पुसमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

पुसमा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उपसमूहको सूचकांकमा समेत क्रमशः कमी आइरहेको छ ।

वार्षिक बिन्दुगत आधारमा पुसमा आयात मूल्य सूचकांक, तलब तथा ज्यालादर र थोक मूल्य सूचकांकको वृद्धि दरमा समेत कमी आएको छ । परिणामत: उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मक रूपमा कम दबाब पर्न गएको राष्ट्र बैंकले जनाएको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक क्रमशः १३.०७ प्रतिशत, १.०४ प्रतिशत र ०.०६ प्रतिशतले घटेको छ ।

मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ३५.६० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ ११.३८ प्रतिशत, दाल तथा गेडागुडी ११.१४ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डा १०.२९ प्रतिशत र फलफूलको १०.१५ प्रतिशतले बढेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १.६२ प्रतिशतले घटेको छ भने मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.८४, विविध वस्तु तथा सेवा ९.७३, शिक्षा ८.९२, फर्निसिङ तथा घरायसी उपकरण ५.१८ र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ ।

पुसमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत, तराई ४.७८, पहाड ५.४० र हिमालको ६.५७ प्रतिशत छ । यो क्षेत्रको मुद्रास्फीति पनि गत वर्षको पुसमा भन्दा घटेको छ । गत आवको पुसमा उक्त क्षेत्रको यस्तो मुद्रास्फीति क्रमशः ६.९३, ७.४९, ७.३० र ६.६९ प्रतिशत थियो ।

पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३६ प्रतिशत छ । गत वर्ष पुसमा यस्तो मुद्रास्फीति ९.८२ प्रतिशत थियो । पुसमा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१६ प्रतिशत, मध्यवर्ती वस्तु १.९९ र पुँजीगत वस्तुको २.७१ प्रतिशत छ ।

पुसमा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १.०८ प्रतिशतले घटेको छ ।

पुसमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक ५.५६ प्रतिशतले बढेको छ । गत आवको पुसमा १०.२७ प्रतिशतले बढेको तलब तथा ज्यालादर सूचकांक चालु आवको पुसमा भने घटेको हो ।

पुसमा तलब सूचकांक १.०५ प्रतिशतले मात्रै बढ्दा ज्यालादर सूचकांक ६.९२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।