काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं अर्थविद डा. स्वर्णिम वाग्लेले कागजमा राम्रो सुनिएको मेलम्ची आयोजना कुशासनको ब्रह्माण्डमा जकडिएको बताएका छन् ।
सिन्धुपाल्चोकको मेलम्चीबाट आइतबार पार्टीले सुरु गरेको ‘राष्ट्रव्यापी दबाब अभियान’को उद्घाटन कार्यक्रममा उनले मेलम्ची खानेपानी आयोजना विकृति, कुशासन, ढिलासुस्ती र भ्रष्टाचारको डरलाग्दो प्रतीक बनेको बताए ।
अभियानको आरम्भ मेलम्चीबाट गर्नु रास्वपाको रणनीतिक रोजाइ भएको उनले स्पष्ट पारे । ‘मेलम्ची अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ, मेलम्चीको दुर्घटनाबारे गत वर्ष न्युयोर्क टाइम्समा एउटा लेख नै छापिएको छ,’ डा. वाग्लेले भने, ‘सन् १९७२ मा कल्पना गरिएको १९८७ तिर विश्वबैंकको सहयोगमा सम्भाव्यता अध्ययन गरिएको आयोजना अहिले पनि सकिएको छैन ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईले २०४७ सालताका खुलामञ्चबाट मेलम्चीको पानी ल्याउँछु, घरघरमा पानी पुर्याउँछु र काठमाडौंका सडकसमेत पखाल्छु भनेको उनले स्मरण गरे ।
‘सुन्नमा धेरै राम्रो थियो । काठमाडौं मेगासिटी बन्दैछ, आर्थिक विकासको एउटा स्रोत हो, राम्रो सहरीकरण हुनु भनेको राम्रो कुरा हो, त्यसका लागि खानेपानी चाहिन्छ, त्यसकारण कि त्रिशूलीबाट कि त हेलम्बु क्षेत्रबाट पानी लानुपर्छ भनेर अध्ययन भएको हो,’ उनले भने, ‘तर यो आयोजना त भ्रष्टाचारको जननी नै भएर रह्यो ।’
नेपाली रुपैयाँमा ६० अर्ब लागतको यो आयोजनालाई निकम्बा बनाइएको उनले आरोप लगाए । ‘आज नेपालका सबै पुराना दलका नेताहरुको फोहोरी साइनो मेलम्ची आयोजनासँग जोडिएको छ,’ वाग्लेले भने ।
आयोजनामा आफ्ना मान्छे पुर्याउन मिलाइने सेटिङदेखि नै हुने भ्रष्टाचार, कागज मिलाएर गरिने भ्रष्टाचार र निर्माण व्यवसायीबाट असुल्ने कुप्रवृत्तिको सिकार मेलम्ची आयोजना बनेको उनले स्पष्ट पारे ।
मेलम्ची आयोजना बिम्बमात्र भएको र २०८४ मा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि सबै बढार्ने उनले दाबी गरे । रास्वपाले रुग्ण र अलपत्र पारिएका २१ विकासे आयोजना केन्द्रित दबाब अभियान सुरु गरेको हो ।
प्रत्येक प्रदेशबाट तीन‑तीनवटा योजना छनोट गरी २१ आयोजनामा दबाब दिने अभियानको सुरुवात रास्वपाबाट प्रतिनिधित्व गर्ने सबै सांसद र पार्टीका केन्द्रीय पदाधिकारी/सदस्यको उपस्थितिमा सभापति रवि लामिछानेले मेलम्चीबाट उद्घाटन गरेका छन् ।
दबाब यात्राको २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्ने कार्यक्रम छ । सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ- पुल्चोक- गोन्द्राङ’ सडकको दबाब यात्राको अगुवाइ गर्नेछन् ।
माघ २१ देखि चैत २१ सम्म चल्ने दबाब अभियानमा रुग्ण र अलपत्र पारिएका २१ विकास योजनाका काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्य रास्वपाको छ ।
विकासको मुद्दा कुनै दल विशेषको नभएर देश र जनताको हुने भन्दै रास्वपाले अभियानका क्रममा पार्टीको झन्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णय गरेको छ ।