काठमाडौं । रुग्ण र अलपत्र पारिएका विकासे आयोजना केन्द्रित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दबाब अभियान सिन्धुपाल्चोकबाट सुरु भएको छ ।
प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपाले दुई महिना लामो ‘राष्ट्रव्यापी दबाब अभियान’को सिन्धुपाल्चोक मेलम्चीबाट आइतबार सुरु गरेको हो ।
प्रत्येक प्रदेशबाट तीन/तीनवटा योजना छनोट गरी २१ आयोजनामा दबाब दिने अभियानको सुरुवात रास्वपाबाट प्रतिनिधित्व गर्ने सबै सांसद र पार्टीका केन्द्रीय पदाधिकारी/सदस्यको उपस्थितिमा सभापति रवि लामिछानेले मेलम्चीबाट उद्घाटन गरेका छन् ।
रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गरेको जनाएको छ । सिन्धुपाल्चोक-काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् ।
दबाब यात्राको २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्ने कार्यक्रम छ । सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ- पुल्चोक- गोन्द्राङ’ सडकको दबाब यात्राको अगुवाइ गर्नेछन् ।
माघ २१ देखि चैत २१ सम्म चल्ने दबाब अभियानमा रुग्ण र अलपत्र पारिएका २१ विकास योजनाका काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्य रास्वपाको छ ।
विकासको मुद्दा कुनै दल विशेषको नभएर देश र जनताको हुने भन्दै रास्वपाले अभियानका क्रममा पार्टीको झन्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णय गरेको छ ।
