रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यो वर्ष अदुवा उत्पादन वृद्धि भएसँगै किसानको आम्दानी पनि बढेको छ । गत वर्षभन्दा यो वर्ष अदुवाखेती गर्ने किसानको संख्या घटे पनि उत्पादन वृद्धि भएको हो ।
यस वर्ष करिब ६ करोड रुपैयाँको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार अदुवा बिक्रीबाट किसानले पाँच करोड ९२ लाख रुपैयाँ आम्दानी गरेका छन् । १० वटा वडा रहेको त्रिवेणीमा एक हजार ९५० परिवारले अदुवाखेती गर्दै आएका छन् ।
प्रत्येक किसानले दुई रोपनीभन्दा बढी जग्गामा अदुवाखेती गर्दै आएको पुनले बताए । पालिकाभर हाल १९५ हेक्टरमा अदुवा उत्पादन भइरहेको छ ।
कृषि शाखा प्रमुख पुनका अनुसार एक रोपनी क्षेत्रफलमा चार क्विन्टलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ । पालिकाभर यो वर्ष १५ हजार ६ सय क्विन्टल अर्थात् १५.६ मेट्रिकटन अदुवा उत्पादन भएको छ । किसानले प्रतिक्विन्टल तीन हजार आठ सयभन्दा बढी मूल्यमा अदुवा बिक्री गरेको उनले बताए ।
गत आर्थिक वर्षमा पालिकामा दुई हजार ६ सय परिवारले अदुवाखेती गर्दै आएकोमा यस वर्ष उक्त संख्या ६ सय ५० रुपैयाँले घटेको प्रमुख पुनले बताए । व्यापारी गाउँमा पुगेर अदुवा खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
व्यावसायिक रूपमा अदुवाखेती गर्दै आएका त्रिवेणी-४ खुम्चेरीका नरबहादुर खड्काले यो वर्ष अदुवा बिक्रीबाट एक लाख रुपैयाँ आम्दानी गरेको बताए । २० वर्षदेखि अदुवाखेतीमा लागेका उनले निरन्तर खेती गर्दा मौसममा दुई लाखसम्म आम्दानी हुने जानकारी दिए ।
त्रिवेणी-६ बाँठाकोटका कृषक कमलप्रसाद घर्तीले यो वर्ष अदुवा उत्पादन र मूल्य दुवै राम्रो पाएको बताए । अदुवा गाउँबाटै प्रतिक्विन्टल पाँच हजार र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्विन्टल १२ हजारसम्ममा बिक्री हुने गरेको बताए ।
‘पहिले एक क्विन्टल अदुवाबाट पाँच क्विन्टलसम्म उत्पादन हुन्थ्यो, अहिले उत्पादन घटेर तीन क्विन्टलसम्म हुन्छ । मौसममा आएको परिवर्तन, मल अभावलगायत कारणले उत्पादन घटेको हुनसक्छ,’ उनले भने । घर्तीले अदुवाका साथै सुन्तला र किभीको पनि खेती गर्दै आएका छन् ।