सर्लाही । सर्लाहीको लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दुधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के र छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखि देखिँदै आएको दृश्य हो ।
सधैँ चियाका पारखीको भीडले घेरिइरहने चिया पसले हुन् विनोद साह । लालबन्दी नगरपालिका–९ का ४२ वर्षीय साहले चिया बेचेरै नाम, दाम र पहिचानसमेत बनाएका छन् । बिहान ४ बजेदेखि अबेर साँझसम्म उनको चिया पसल चियाका पारखीले घेरिएको हुन्छ ।
‘दैनिक सबेरै पसलमा आउँछु, साँझ ८ बजेमात्र पसल बन्द गरेर घर फर्कन्छु, विगत १८ वर्षदेखिको मेरो दिनचर्या यही हो,’ साह भन्छन्, ‘कहिलेकाहीँ बिहान थोरै ढिला हुँदा पनि ग्राहकले गाली गर्नुहुन्छ ।’
२०५९ सालमा लालबन्दी नगरपालिकास्थित बस्तीपुरमामा रहेको जनज्योति माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुअघि नै उनले चिया पसल थालेका हुन् । रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका–५ पुर्ख्यौली घर भएको साह परिवार बागमतीको बाढीले घरखेत बगाएपछि लालबन्दी बसाइँ सरेको हो । हाल बसोबास रहेको स्थान साहको मामाघर हो ।
‘घरखेत बागमतीको बाढीले बगाएपछि मामाघरका हजुरबुबाले आमाबुबालाई यतै बोलाउनुभयो,’ उनले भने, ‘त्यसपछि आमाबुबाले हरियो मकै पोलेर, बदाम भुटेर बेच्ने र त्यसबाट आएको पैसाले परिवारको गुजारा गर्नुहुन्थ्यो ।’
आमाबुबालाई सघाउँदा सघाउँदै परिवारका लागि आफूले पनि केही गर्नुपर्छ भन्ने लागेर चिया बेच्न सुरु गरेको साहले बताए । ‘ज्योतिषीले हात हेर्दा होटल व्यवसाय फाप्छ भनेका थिए,’ उनले भने, ‘होटल खोल्न परिवारसँग पैसा थिएन । धेरथोर ऋण गरेर चिया व्यापार सुरु गरेँ ।’
यसैबाट परिवारको गुजारासँगै उनले घरबास पनि जोडेका छन् । साहले दिनभरमा झन्डै तीन सय कप चिया बेच्छन् । त्यसबाट दैनिक ६ हजारसम्मको कारोबार गर्छन् । चियाका लागि दैनिक डेरीबाट ४० देखि ५० लिटर दूध किनेर ल्याउने गरेको उनले बताए । प्रतिलिटर दूधको ९० रुपैयाँ तिर्नुपर्छ । एक कप चिया २० रुपैयाँमा बेच्छन् । उनको पसलमा धेरै ग्राहक नियमित छन् ।
चिया बेचेरै घडेरी र घर
चिया बेचेरै उनले लालबन्दीमा १५ धुर घडेरी किनेर एकतले पक्की घर बनाएका छन् । ‘त्यतिबेला घडेरी किन्दा एक लाख तिरेँ,’ उनले भने, ‘विस्तारै विस्तारै गरेर ३५ लाख खर्च गरेर घर बनाएको छु । दुई छोरा र एक छोरीलाई बोर्डिङ स्कुलमा पढाएँ । खान लगाउन अहिलेसम्म समस्या भएको छैन ।’
सुरुमा एक वर्ष चिया पसल चलाउँदा उधारो भएर घाटा लागेको साहको अनुभव छ । त्यसयता उनले फेरि जीवन गुजाराको विकल्प सोच्नुपरेको छैन । चिया पसलबाट पैसाका साथै साथीभाइ र नाम कमाए । साथीभाइकै सहयोगमा पाँच महिनाअघि उनले जेठो छोरालाई उच्च शिक्षा अध्ययनका लागि जर्मनी पठाएका छन् ।
साहका अनुसार कान्छो छोरा कक्षा ११ मा र छोरी कक्षा १० मा बोर्डिङ स्कुलमा पढिरहेका छन् । चिया व्यापारकै कारण अन्य व्यापार, जागिर र वैदेशिक रोजगारीका बारेमा सोच्न नसकेको उन बताए । लालबन्दी साहको मावली गाउँ भएकाले सबैले उनलाई ‘भान्जा’ भनेर सम्बोधन गर्छन् । उनी पनि चिया खान आउने साना–ठूला सबैलाई मामा भनेर सम्बोधन गर्छन् । त्यसैले साहको चिया पसल लालबन्दीभरि ‘भान्जाको चिया पसल’का नामले परिचित छ ।
(रासस)