• Menu

दुग्ध विकास संस्थानले काठमाडौँ महानगरलाई बुझायो ३१ वर्षको सम्पत्ति कर

नेपाल प्रफिट

२०८१ माघ ४, शुक्रबार ११:३१

दुग्ध विकास संस्थानले काठमाडौँ महानगरलाई बुझायो ३१ वर्षको सम्पत्ति कर

काठमाडौँ । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटक बुझाएको छ । पुस २८ को मूल्यांकनबमोजिम संस्थानले एक करोड दुई लाख ८७ हजार ९२६ रुपैयाँ सम्पत्ति कर महानगरलाई बुझाएको हो ।

महानगरपालिका-२६ सचिव केदार रिमालका अनुसार संस्थानले आर्थिक वर्ष २०४९/५० देखि आव २०८१/८२ सम्मको घरजग्गा सम्पत्ति कर बुझाएको छ । संस्थानसहित सरकारका स्वामित्वमा भएका १२ वटा व्यावसायिक संघसंस्थालाई कर दाखिला गर्न महानगरको राजस्व विभागले यसअघि नै पत्राचार गरिसकेको छ ।

महानगरले जारी गरेको राजस्व ऐन २०७५ तथा आर्थिक ऐनले सम्पत्ति करको दररेट तथा संकलन प्रक्रियाबारे व्यवस्था गर्दै आएको छ । जसअनुसार नक्सापास भएको दुई वर्षलाई निर्माण अवधि मानेर त्यसपछिको अवधिदेखि घरजग्गा सम्पत्ति कर गणना हुने व्यवस्था रहेको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिए ।

‘पत्राचारपछि करदाताहरु सम्पर्कमा आउने क्रम सुरु भएको छ । यो सकारात्मक पक्ष हो । आर्थिक ऐनले गरेको बक्यौता कर असुलीसम्बन्धी व्यवस्थाबमोजिम राजस्व असुल गरिनेछ,’ उनले भने ।

ऐनबमोजिम कर दाखिला नगर्ने करदातालाई राजस्व विभाग वा वडा कार्यालयले पहिलो पटक ३५ दिनको समय तोकी पत्र, इमेल वा म्यासेजमार्फत जानकारी गराउने उनले बताए । समय अपुग भएर थप समय माग गरेमा राजस्व विभागका प्रमुखको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृतले बढीमा १० दिनसम्म अवधि थप गर्नसक्ने व्यवस्था छ ।