• Menu

बागमती प्रदेश सरकारको ६ महिनाको बजेट खर्च जम्मा १६ प्रतिशत

नेपाल प्रफिट

२०८१ माघ ४, शुक्रबार १०:२३

बागमती प्रदेश सरकारको ६ महिनाको बजेट खर्च जम्मा १६ प्रतिशत

मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा जम्मा १६ प्रतिशत बजेट खर्च गरेको छ । पुससम्ममा कुल बजेटको करिब १६.२७ प्रतिशतमात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए ।

चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँको बजेट ल्याएकोमा पुससम्म १० अर्ब ५० करोड २९ लाख नौ हजारमात्र खर्च भएको छ । चालुको तुलनामा पुँजीगत खर्च झन् कम रहेको पौडेलले बताए ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१.५६ प्रतिशत र प्रदेशसभा सचिवालयले २८.३६ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले ४.६ प्रतिशत बजेट खर्च गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।