• Menu

महोत्तरीमा धान उत्पादन बढ्यो

नेपाल प्रफिट

२०८१ पुस २८, १३:५२

महोत्तरीमा धान उत्पादन बढ्यो

जलेश्वर । महोत्तरीमा यसवर्ष धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष पालका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ३७ हजार एक सय मेट्रिक टन धान बढी उत्पादन भएको हो ।

यस वर्ष कुल ४२ हजार पाँच सय हेक्टरमा गरिएको धानखेतीमा एक लाख ५९ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको हो ।

जुन गतवर्षको तुलनामा ३०.२ प्रतिशतले बढी हो । गत वर्ष ३९ हजार आठ सय ७० हेक्टरमा धानखेती गरिँदा एक लाख २२ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको थियो ।

महोत्तरीमा यसवर्ष पर्याप्त वर्षा, उन्नत प्रजातिका बिऊ, समयमै मल खाद्य तथा कृषि प्राविधिकको साथ भएकाले धान उत्पादन बढेको प्रमुख पालले बताए ।

उनले मसिनो र सुगन्धित धान बासमति, कारी कुमोद, तुलसी फूल लगायतको धान उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा भने ह्रास आएको बताए ।

उनका अनुसार यसवर्ष जिल्लामा केवल तीन हजार दुई सय ५० हेक्टरमा मसिनो धानखेती गरिएकोमा १० हजार ६ सय २५ मेट्रिक टन धान उत्पादन  भएको हो ।

केन्द्रका अनुसार जिल्लामा यसवर्ष मोटा धानको उत्पादकत्व प्रतिहेक्टर ३.७६ मेट्रिक टन छ भने मसिनो धानको उत्पादकत्व मात्र २.५ मेट्रिक टन छ ।