• Menu

अरुण तेस्रो आयोजनाको निर्माण ८० प्रतिशत सम्पन्न, छुट जमिनको ४०० परिवारले पाउँदैछन् मुआब्जा

नेपाल प्रफिट

२०८१ पुस २६, शुक्रबार १०:४४

अरुण तेस्रो आयोजनाको निर्माण ८० प्रतिशत सम्पन्न, छुट जमिनको ४०० परिवारले पाउँदैछन् मुआब्जा

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ ।

त्यति बेला जिल्ला प्रशासनले छ्याङ्कुटीबाट विद्युत गृह जाने २४ किलोमिटर प्रवेशमार्गको पाँच सय २४ रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी ११ लाख ७५ हजारका दरले तोकेको थियो । प्रशासनको धरौटी खातामा पीडितका लागि ‘अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेड’ले तत्कालै ५३ करोड जम्मा गरिदिएको थियो ।

आयोजनाको प्रवेशमार्गमा झण्डै चार सय परिवारको घरजग्गा परेको छ । सर्वोच्चको परमादेशपछि गृह मन्त्रालयलाई पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए ।

२०८१ साल जेठ २२ गते अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङमार्गको ब्रेक थ्रु गरेर सुरुङमार्गको काम सकिएको घोषणा गरिएको थियो ।