• Menu

सन् २०२४ मा चीनले बेच्यो १ करोड ९ लाख विद्युतीय सवारी साधन

नेपाल प्रफिट

२०८१ पुस २५, १६:४०

सन् २०२४ मा चीनले बेच्यो १ करोड ९ लाख विद्युतीय सवारी साधन

एजेन्सी । विश्वमा नवीकरणीय ऊर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतले बढेको छ ।

चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार गराएको जानकारीअनुसार सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडी बिक्री भएको छ ।

हालैका वर्षहरूमा बेइजिङको उदार अनुदानबाट प्रेरित चिनियाँ विद्युतीय सवारीसाधनको बजारले व्यापक वृद्धि पाएको छ । सीपीसीएका अनुसार गत वर्ष कुल खुद्रा बिक्रीको करिब आधा अर्थात् ४७.६ प्रतिशत हिस्सा विद्युतीय गाडीले ओगटेको थियो ।

सीपीसीएको तथ्यांकअनुसार डिसेम्बरमा यस्ता गाडीको बिक्री संख्या १३ लाखभन्दा धेरै पुगेको छ । यो वर्षभरिको तुलनामा ३७.५ प्रतिशतले बढी हो र यो लगातार पाँचौं महिना १० लाखभन्दा बढीको बिक्री हो ।

विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा घरेलु कार निर्माताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ । चिनियाँ बजारमा बीवाईडीले अन्य कारको तुलनामा व्यापक बजार पाएको छ । सेन्जेनस्थित कम्पनीले सन् २०२४ मा विश्वभर ४० लाखभन्दा बढी गाडी बिक्री गरेको थियो ।