बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले यो वर्ष पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो रकम गत वर्षको तुलनामा करिब दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले तीन करोड ५० लाखबराबरको सुन्तला बिक्री गरेका थिए ।
यो वडामा मात्रै झन्डै ३० हेक्टरमा सुन्तलाखेती भइरहेको उनले जानकारी दिए । कँडेलका अनुसार यो वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन बढेको हो । पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिमसमेत दिँदै आएको छ ।
‘काठेखोला–६ मा सुन्तला उत्पादन राम्रो छ, वडा–४ र ७ sf केही क्षेत्रमा पनि सुन्तलाखेती भइरहेको छ, किसानलाई प्रोत्साहनका लागि समय–समयमा तालिम दिने गरेका छौँ, ढुसीजन्य रोगबाट बचाउन नीलोतुथोदेखि प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएका छौँ,’ उनले भने । यस वर्ष पनि सुन्तलाखेती विस्तार गर्ने कार्यक्रम रहेको उनले बताए ।
गाउँपालिकाले गत वर्ष किसानलाई पाँच हजार पाँच सय सुन्तलाका बिरुवा र तीन हजार कागतीका बिरुवा वितरण गरेको थियो । काठेखोला–६ का किसान लोकनाथ कँडेलले यो वर्ष १२ लाख ५० हजारको सुन्तला बेचिसकेको बताए ।
‘अब एक लाख जतिको बिक्री गर्न बाँकी छ,’ उनले भने । उनका बगैँचामा तीन सय बोट सुन्तला छन् । यो वर्ष २१० बोटले फल दिएको उनको जानकारी दिए ।
‘किसानले सुन्तला बगैँचा व्यवस्थापनमा पनि ध्यान दिन थालेपछि राम्रो फल्न थालेको छ,’ कँडेलले भने, ‘मेरो बगैँचामा नयाँ ९० बोट सुन्तला छन्, अर्को वर्षदेखि फल दिन्छन्, सुन्तलाखेतीबाट आम्दानी राम्रो छ, पहिले कोदो मकै फल्ने ठाउँमा अहिले सुन्तला फलाउँछौँ ।’
किसान देवीलाल कँडेलले अघिल्लो वर्ष तीन लाखको सुन्तला बिक्री गरेको बताए । उनले यो वर्ष चार लाखभन्दा बढी आम्दानी गरेका छन् । व्यापारी बगैँचामै पुगेर व्यापारीले सुन्तला खरिद गर्ने भएकाले बजारीकरणको समस्या छैन ।