काठमाडौं । अप्पर मर्स्याङ्दी १ जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । लमजुङको मर्स्याङ्दी नदीमा निर्माण हुने १०२ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा लगानी गर्न तीन बैंक सहमत भएका हुन् ।
परियोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाइमा ग्लोबल आईएमई र प्रभु बैंकले लगानी गर्नेछन् । आयोजनाको कुल लागत २१ अर्ब ४० करोड रुपैयाँ छ ।
सहवित्तीयकरणमा सहभागी बैंकहरूले लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजनामा लक्ष्मी सनराइज बैंकले ७ अर्ब, ग्लोबल आईएमई बैंकले ६ अर्ब र प्रभु बैंकले ३ अर्ब गरी १६ अर्ब लगानी गर्ने भएका छन् ।
कम्पनीका प्रवर्धकले बाँकी २५.२३ प्रतिशत रकम लगानी गर्नेछन् । कम्पनीको प्रवर्धकमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन् ।
अपर मर्स्याङ्दी हाइड्रोपावर–१ ले २०७५ पुस १० मा विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको अनुमति लिएको थियो । आयोजनाले २०८१ पुस ९ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता गरेको छ । आयोजना २०२९ जुनभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ ।