• Menu

इजरायललाई आठ अर्ब डलरको हतियार बिक्री गर्दै अमेरिका

नेपाल प्रफिट

२०८१ पुस २२, ११:५७

इजरायललाई आठ अर्ब डलरको हतियार बिक्री गर्दै अमेरिका
फाइल तस्बिर ।

एजेन्सी । अमेरिकी विदेश विभागले इजरायललाई आठ अर्ब डलरको हतियार बिक्री गर्ने भएको छ । विभागले उक्त योजना अनुमोदन गर्नेबारे शुक्रबार कंग्रेसलाई जानकारी गराएको हो ।

दुईवटा कंग्रेस कमिटीमा पठाइएको सूचनाअनुसार प्रस्तावित बिक्रीमा बम, लडाकु विमान, मिसाइल तथा जीपीएस निर्देशन प्रणाली समावेश छ । ‘कांग्रेसले अन्तिम स्वीकृति दियो भने हतियारसहित केही युद्ध सामग्री यो वर्ष डेलिभर गर्न सकिन्छ,’ एक अधिकारीले भने ।

यसैबीच, इजरायली सेनाले शनिबार गाजा पट्टीमा ३० अलग-अलग आक्रमणहरूमा ७० प्यालेस्टाइनीलाई मारेको छ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजामा बन्दी बनाएकाहरूलाई फिर्ता गराउन सम्बन्धित पक्षहरूसँग वार्ता भइरहेको पनि बताएका छन् ।

बिहीबार इजरायली प्रधानमन्त्रीको कार्यालयले सम्भावित बन्धक–युद्धविराम व्यवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले प्रतिनिधि मण्डलको कतार भ्रमणलाई अनुमोदन गरेको घोषणा गरेको थियो ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा ठूलो आतंकवादी आक्रमण गरेको थियो । त्यसयता निरन्तर युद्ध भइरहेको छ । हमासले विदेशी नागरिकसहित १२ सयभन्दा बढी व्यक्तिको हत्या, बलात्कार तथा २५० भन्दा बढी बन्धकलाई अपहरण गरेको थियो ।