• Menu

सन् २०२४ मा विश्व अर्थतन्त्र : कमजोर वृद्धिदर तर कृत्रिम बौद्धिकताको उत्कर्ष

नेपाल प्रफिट

२०८१ पुस १८, ११:५०

सन् २०२४ मा विश्व अर्थतन्त्र : कमजोर वृद्धिदर तर कृत्रिम बौद्धिकताको उत्कर्ष

काठमाडौँ । सन् २०२४ विश्व अर्थतन्त्र, राजनीति र प्रविधिका अभूतपूर्व घटनाहरूको वर्ष बन्यो । भू-राजनीतिक तनाव, जलवायु संकट र मुद्रास्फीतिको दबाबले अर्थतन्त्रमा चुनौती थपियो ।

युक्रेन-रूस युद्ध, मध्यपूर्वको विवाद र अमेरिकाको राष्ट्रपति चुनावले अन्तर्राष्ट्रिय सम्बन्धलाई पुनः परिभाषित गर्‍यो । क्रिप्टोकरेन्सीले ऐतिहासिक उचाइ हासिल गर्‍यो भने फिनटेक क्षेत्रले नयाँ सम्भावनाहरू देखायो ।

विश्व तापमानमा ऐतिहासिक वृद्धि र प्राकृतिक प्रकोपहरूले जलवायु संकटलाई थप गम्भीर बनाएको यो वर्ष आर्थिक, सामाजिक, र प्रविधिक दृष्टिले महत्वपूर्ण रह्यो । यस्ता छन् विश्व अर्थतन्त्रका महत्वपूर्ण घटना र उपलब्धि :

कमजोर आर्थिक वृद्धि

सन् २०२४ कमजोर आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीति र नियन्त्रणकारी मौद्रिक नीतिको वर्ष रह्यो । विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) ले सन् २०२४ मा विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत र विश्व बैंकले २.६ प्रतिशत रहने प्रक्षेपण गरेका छन् ।

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) का अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर यस वर्ष ३.२ प्रतिशत रहनेछ । आईएमएफद्वारा प्रकाशित ‘वर्ल्ड इकोनोमिक आउटलुक’ अनुसार भूराजनीतिक तनाव, जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारण विश्वको आर्थिक वृद्धि कोभिड-१९ पूर्वको तुलनामा अझै कमजोर छ ।

यस वर्ष विकसित मुलुकको अर्थतन्त्र १.८ र उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर ४.२ प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ । यस वर्ष भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत र चीनको ४.८ प्रतिशतले विस्तार हुने प्रक्षेपण छ ।

अघिल्ला वर्षहरूको तुलनामा विश्वको मुद्रास्फीतिमा सुधार हुँदै आएको छ । सन् २०२३ मा विश्वको उपभोक्ता मुद्रास्फीति ६.७ प्रतिशत रहेकोमा यस वर्ष ५.८ प्रतिशत रहने कोषले प्रक्षेपण गरेको छ । यस वर्ष भारतको मुद्रास्फीति ४.४ प्रतिशत र चीनको ०.४ प्रतिशत अनुमान गरिएको छ ।

मुद्रास्फीतिमा क्रमिक सुधार देखिएसँगै अन्तर्राष्ट्रिय स्तरमा खुकुलो मौद्रिक नीति अवलम्बन गर्न थालिएको छ । अमेरिकी फेडरल रिजर्भले २०२३ जुलाईमा साढे ५ प्रतिशत पुर्‍याएको ‘फेडरल फन्ड रेट’ क्रमशः घटाउँदै २०२४ सेप्टेम्बरमा ४.७५ प्रतिशतदेखि ५ प्रतिशत कायम गर्‍यो भने २०२४ नोभेम्बरमा साढे ४ प्रतिशतदेखि ४.७५ प्रतिशत कायम गरेको छ । युरोपियन केन्द्रीय बैंकले पनि २०२४ अक्टोबरमा निक्षेप सुविधा दरलाई २५ आधार विन्दुले घटाएर ३.२५ प्रतिशत कायम गरेको छ ।

यस वर्ष मौद्रिक क्षेत्र व्यवस्थापनका लागि ठूलो अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकहरुले समेत कडा मौद्रिक नीति अबलम्बन गरे । जसले मुद्रास्फीति नियन्त्रण गर्न केही मद्दत पुर्‍याए पनि सार्वजनिक वित्तमा भने दबाब सिर्जना गर्‍यो ।

ब्रिक्सद्वारा अमेरिकी डलरको निर्भरता घटाउन पहल

गत अक्टोबरमा रूसका कजानमा सम्पन्न ब्रिक्स राष्ट्रहरूको १६औं सम्मेलनले अमेरिकी डलरप्रतिको निर्भरता घटाउने योजनामाथि छलफल गरेपछि त्यसको चर्चा विश्वभर चुलियो ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूले डलरको स्थानान्तरण गर्न खोजे ती देशहरुले महँगो भन्सार दर र व्यापार प्रतिबन्धसमेतको सामना गर्नुपर्ने चेतावनी दिए । हाल विश्वमा अमेरिकी डलरको प्रभुत्व घटिरहेको छ तर यो अझै पनि सबैभन्दा बढी प्रयोग हुने मुद्रा हो ।

डलरले विश्व केन्द्रीय बैंक रिजर्भको करिब ५९ प्रतिशत हिस्सा ओगटेको छ । ब्रिक्स राष्ट्रहरूले डलरको प्रयोग घटाउने प्रयास गरे पनि यो प्रक्रिया सुरु हुन अझै समय लाग्छ । यद्यपि, ब्रिक्स राष्ट्रहरूले डिजिटल मुद्राको प्रयोग र साझा मुद्रा निर्माणको प्रस्तावलाई प्राथमिकता दिएका छन् ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

सन् २०२४ अक्टोबर १४ मा स्विडेनको रोयल स्विडिस एकेडेमी अफ साइन्सले यस वर्षको अर्थशास्त्रतर्फको नोबल पुरस्कार ड्यारन एसिमोग्लु, साइमन जोनसन र जेम्स ए. रोबिन्सनलाई प्रदान गर्ने निर्णय गर्‍यो ।

यी तीन अर्थशास्त्रीले ‘सामाजिक संस्थाहरू कसरी निर्माण हुन्छन् र तिनले मुलुकको आर्थिक विकास तथा समृद्धिमा कस्तो प्रभाव पार्छन्’ भन्ने विषयमा अध्ययन गरेका थिए ।

बढी समावेशी संस्था भएका देशमा समृद्धि सम्भव भएको तर शोषणकारी संस्था भएका देशहरू आर्थिक असमानतामा फसिरहेका निष्कर्ष उनीहरुको अनुसन्धानको थियो । समावेशी संस्थाहरूले दीर्घकालीन लाभ पुर्‍याउने तर शोषणकारी संस्थाहरूले अल्पकालीन रूपमा सत्तामा रहेका व्यक्तिलाई मात्र फाइदा पुर्‍याउँछन् ।

दुई अमेरिकी बैंक डुबे

सन् २०२३ मा अमेरिकामा पाँचवटा बैंक बन्द भएकोमा यस वर्ष थप दुईवटा बैंक डुबेका छन् । अमेरिकाको ओक्लाहोमा राज्यको ‘द फर्स्ट नेसनल बैंक’ र पेन्सिलभेनिया राज्यको ‘रिपब्लिक फर्स्ट बैंक’ यस वर्ष बन्द भए ।

झुटा तथा भ्रामक बैंक रेकर्ड, ठगी, क्रिप्टोमा लगानी जस्ता कारण यी बैंकमा समस्या देखिएपछि अमेरिकाको फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले टेकओभर गरेर व्यवस्थापन गरेको थियो ।

फस्टाउँदो ‘फिनटेक’

सन् २०२४ मा फिनटेक क्षेत्रमा प्रविधिको विकाससँगै त्यसले प्रयोगकर्ता आएको परिवर्तनका कारण ठूलो रूपान्तरण देखियो । अन्तरदेशीय (क्रस-बोर्डर) भुक्तानी क्षेत्रमा ‘ब्लकचेन’ र ‘स्टेबलकोइन’ प्रविधिको प्रयोगले अन्तर्राष्ट्रिय कारोबारलाई छिटो, सस्तो, र पारदर्शी बनाउँदै लगेको छ ।

डिजिटल वालेटहरू बहुआयामिक वित्तीय प्लेटफर्मका रुपमा उदाएका छन् । वालेटका रुपमा उदाएका ‘एप्पल पे’ ‘गुगल पे’ जस्ता प्लेटफर्म क्रिप्टोकरेन्सी कारोबार, क्रस-बोर्डर भुक्तानीलगायतका क्षेत्रमा आक्रामक रुपमा अघि बढिरहेका छन् ।

‘ओपन बैंकिङ’को अवधारणा, अमेजनजस्ता इकमर्स प्लेटफर्महरुले आफैँ भुक्तानी सेवा उपलब्ध गराउन थाल्नु, कृत्रिम बौद्धिकताको प्रयोगबाट लगानीको जोखिम विश्लेषणलगायतका प्रविधिमा आधारित विषयमहरु यस वर्ष चर्चामा रहे ।

यी प्रवृत्तिहरूले फिनटेक क्षेत्रलाई तीव्र विकास मात्र होइन, उपभोक्तामुखी र वातावरणीय रूपमा उत्तरदायी सेवाहरूलाई प्राथमिकता दिने नयाँ दृष्टिकोण विश्वव्यापी रुपमा स्थापित हुन थालेको छ ।

गुगललाई विश्वको जीडीपीभन्दा बढी जरिवाना

रुसको एक अदालतले गत अक्टोबरमा गुगल कम्पनीलाई हालसम्मकै ठूलो रकम जरिवानाको फैसला गर्‍यो । युट्युबमा रुसका सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाएपछि दुई अन्डेसिलियन (दुईको पछाडि ३६ वटा शून्य) बराबरको जरिवानाको फैसला रुसको अदालतले गरेको हो । यो जरिवाना रकम विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा पनि बढी हो ।

ऐतिहासिक बिन्दुमा क्रिप्टो बजार

सन् २०२४ मा क्रिप्टोकरेन्सी बजारले ऐतिहासिक बिन्दु कायम गर्‍यो । यस वर्ष बिटक्वाइनको मूल्य एक लाख अमेरिकी डलर नाघ्यो । गत वर्षको तुलनामा बिटक्वाइनको मूल्य १२० प्रतिशतले र इथरको मूल्य ५५ प्रतिशतभन्दा बढीले वृद्धि भयो ।

यस्तो वृद्धिको प्रमुख कारणमध्ये ‘बिटक्वाइन एक्सचेन्ज-ट्रेडेड फन्ड’लाई अमेरिकाले स्वीकृति दिनु, विटक्वाइनमा संस्थागत लगानीकर्ताको चासो बढ्नु र नयाँ क्रिप्टो नियमहरू लागू हुनुलगायत हुन् । नेपालको छिमेकी देश भुटानले यस वर्ष अमेरिकी डलर तीन करोड ५० लाखबराबरको बिटक्वाइन बेचेको विषय पनि चर्चामा रह्यो ।

ठूला मर्जर र एक्विजिसन

सन् २०२४ मा व्यावसायिक क्षेत्रमा निकै महत्वपूर्ण प्राप्ति (मर्जर) र अधिग्रहण (एक्विजिसन) का सम्झौता भए । यस वर्ष ‘क्यापिटल वान फाइनान्सियल कर्पोरेसन’ले डिस्कभर फाइनान्सियल सर्भिसेजलाई ३५.३ अर्ब अमेरिकी डलरबराबरको स्टक- आधारित सम्झौतामा अधिग्रहण गर्ने घोषणा गर्‍यो ।

यस मर्जरले क्रेडिट कार्ड र उपभोक्ता बैंकिङ क्षेत्रमा ठूलो प्रतिस्पर्धी संस्था निर्माण गर्ने लक्ष्य राखेको छ । त्यस्तै, जोन्सन एन्ड जोन्सन (जे एन्ड जे) ले १३.१ अर्ब डलरमा सकवेभ मेडिकललाई अधिग्रहण गर्‍यो । जसले इन्ट्राभास्कुलर लिथोट्रिप्सी (आईभिएल) प्रविधिमा आधारित मेडिकल उपकरण निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने ठानिएको छ ।

त्यस्तै, हेव्लेट प्याकार्ड इन्टरप्राइजले १४ अर्ब डलरमा जुनिपर नेटवर्क्सलाई गरेको अधिग्रहण, एक्सोन मोबिलले पायोनियर नेचुरल रिसोर्सेसलाई करिब ६० अर्ब डलरको स्टक-आधारित सम्झौताको अधिग्रहणलगायतका व्यावसायिक सम्झौताहरु चर्चामा रहे ।

साइबर हमला

सन् २०२४ मा भएका विभिन्न साइबर हमलाले विश्वभरका धेरैवटा संस्था र महत्वपूर्ण सेवा प्रवाहमा अवरोध सिर्जना भयो । सन् २०२४ जनवरीमा अमेरिकाको लोन डिपो कम्पनीमा ‘र्‍यान्समवेयर’ आक्रमण हुँदा उक्त कम्पनीको एक करोड ६० लाखभन्दा बढी ग्राहकको व्यक्तिगत जानकारी चोर्नुका साथै कम्पनीलाई करिब दुई लाख ७० हजार अमेरिकी डलरबराबरको घाटा लाग्यो ।

चिनियाँ ह्याकरहरुको समूह ‘भोल्ट टाइफुन’ले अमेरिकाको ऊर्जा, पेट्रोलियम पाइपलाइनजस्ता महत्वपूर्ण पूर्वाधार परियोजनामा साइबर आक्रमण गरे । अमेरिकाको ‘चेन्ज हेल्थ केयर’ आक्रमण, अस्ट्रेलियाको ‘मेडि सेक्युअर’ डाटा चोरी, बेलायतको ‘एनएचएस’ आक्रमण, स्नोफ्लेक आक्रमणलगायतका घटनाले साइबर सुरक्षाको क्षेत्रलाई तरंगित बनायो ।

यसरी सन् २०२४ मा राजनीति, जलवायु, युद्ध, सूचना प्रविधिलगायतका क्षेत्रमा महत्वपूर्ण घटना घटे । अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पले पुनरागमन गर्दै विश्व राजनीतिमा ठूला बदलावको संकेत दिए ।

उनको ‘अमेरिका फर्स्ट’ नीतिले अन्तर्राष्ट्रिय सम्बन्ध कसरी अघि बढ्छ भन्नेबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । जलवायु परिवर्तनको असरले सन् २०२४ लाई इतिहासकै सबैभन्दा तातो वर्ष बनायो ।

बढ्दो तापक्रम र प्राकृतिक प्रकोपहरूले वातावरणीय संकटलाई थप जटिल बनाए । युक्रेन-रूस युद्धको तेस्रो वर्षमा द्वन्द्व अझै तीव्र बन्यो र दुवै पक्षले ठूलो क्षति व्यहोर्नुपर्‍यो । मध्यपूर्वी देशको विवाद पनि उत्कर्षमा रह्यो ।