कतार । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका नेपाली आप्रवासीलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
कतारको दोहामा आयोजित ‘नेपाल बिजनेस एसोसिएसन कतार’को सम्मेलनमा अध्यक्ष ढकालले नेपालको पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषि जस्ता क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन् ।
‘कतारको आर्थिक वृद्धि र विकासमा नेपाली श्रमिकको योगदान छ,’ उनले भने, ‘ती श्रमिकलाई सीपयुक्त बनाउन नेपालमा प्राविधिक विद्यालय स्थापना जरुरी छ ।’
गैरआवासीय नेपालीका लागि सरकारले गरेको नागरिकको प्रावधानले पनि विश्वमा छरिएर रहेका नेपालीलाई अब नेपालमा लगानीका लागि प्रोत्साहित गर्नुपर्ने उनको तर्क छ ।
‘आफ्नो लगानीको भविष्य के होला भन्ने पनि यहाँहरुको मनमा थियो होला तर अब नागरिकताको यो नयाँ कानुनी प्रावधानले नेपालमा लगानी गरी व्यवसाय गर्न सहज र सुरक्षित बनाएको छ भन्ने मलाई लागेको छ,’ उनले भने ।
सरकारले धेरै कानुनी अड्चनहरु सुधार गरी लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको र सोही अनुरुप काम पनि भइरहेको उनले बताए ।
केही वर्षभित्र नेपाल एलडीसीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने भएकाले यसले पनि नेपालको अर्थतन्त्रमा धेरै सम्भावना सिर्जना हुने र अर्थतन्त्रलाई विविधीकरण गर्न कतार एक प्रमुख साझेदार बन्न सक्ने अध्यक्ष ढकालको भनाइ छ ।
नेपालको भूराजनीतिक परिस्थिति, विश्वका दुई उदीयमान अर्थतन्त्र भारत र चीनसँगको व्यापारिक सम्भावनाको सदुपयोग गर्न कतारमा रहेका गैरआवासीय नेपालीलाई उनले आग्रह गरे ।
भारतसँग हालै भएको ऊर्जासम्बन्धी उच्तस्तरीय सम्झौता सकारात्मक रहेको र यसबाट हाम्रो देशमा हाइड्रोपावरमा हुने लगानी र ऊर्जा व्यापारको मार्ग प्रशस्त भएको उनले बताए ।