काठमाडौं । चुनावमा नेताहरूबाट रेलका किस्सा सुनेर भोट दिने बानी परेका नेपालीहरूका लागि छिमेकी चीनले सार्वजनिक गरेको तीव्र गतिको रेलको प्रोटोटाइपले ध्यान तानेको छ ।
दुई दिनअघि डिसेम्बर २९ मा चीनले विश्वकै सबैभन्दा छिटो दौडिने नयाँ पुस्ताको हाई-स्पिड रेलको प्रोटोटाइप अर्थात् नमुना सार्वजनिक गरेपछि यसको चर्चा चुलिएको हो ।

आइतबार बेइजिङमा अनावरण गरिएको सी आर ४५० मोडेलको रेलको गति प्रतिघण्टा ४५० किलोमिटर छ भने सञ्चालनमा रहँदा प्रतिघण्टा ४०० किलोमिटरको गतिमा कुद्नेछ । यो सञ्चालनमा आउँदा हवाई जहाजको यात्रा समयसँग सहजै प्रतिस्पर्धा गर्ने ठानिएको छ ।
अहिले व्यावसायिक सेवामा रहेका मध्ये चीनकै हालको सीआर ४०० मोडेलको गति २१७ माइल अर्थात् करिब ३५० किलोमिटर प्रतिघण्टा छ ।

यसले व्यावसायिक सञ्चालनमा आउन कैयौँ परीक्षणहरू पूरा गर्न बाँकी छ छ । तर, ५ सयभन्दा बढी परीक्षणहरूमा सफल भएकाले यसले छिटै व्यावसायिक सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
पछिल्लो दशकमा, चीनले देशका लगभग हरेक कुनासम्म पुग्न हजारौँ किलोमिटर नयाँ रेलमार्ग निर्माण गरिरहेको छ । चीनको रेल नेटवर्क १ लाख ६० हजार किलोमिटरभन्दा बढी फैलिएको छ । यसमध्ये पनि ४६ हजार किलोमिटर उच्च-गतिका रेल लाइनहरू छन् ।

सन् १९ सय ८० देखि जापानको सिन्कानसेन र फ्रान्सको ट्रेन ए ग्रान्ड भिटेसेद्वारा युरोप र एसियाभरि नयाँ उच्च-गति र उच्च क्षमताका रेलहरूमा अर्बौँ डलर लगानी भएको छ ।
चीनको नयाँ मोडेलको रेल छिटो कुद्नेमात्र होइन, दक्षता र कार्यसम्पादनमा पनि उल्लेख्य सुधार गरेर विकास गरिएको छ । यो अहिलेको रेलभन्दा १२ प्रतिशत हल्का छ भने २० प्रतिशत कम ऊर्जा खपत गर्छ ।

यो अत्याधुनिक रेलले चीनमा लामो दूरीको यात्रालाई अत्यन्तै छिटो र आरामदायी बनाउनेछ । बेइजिङको ग्रेट वाल यात्रापछिको केही बेरमा सांघाईको रात्रि जीवनमा रमाउन पुगिनेछ ।
चार हजारभन्दा बढी सेन्सरहरूसँग सुसज्जित यस रेलले स्थिरता, स्वचालित नियन्त्रण र आगो पत्ता लगाउने जस्ता महत्त्वपूर्ण प्रणालीलाई सूक्ष्म निगरानी गर्छ । यसले रेल यातयातलाई थप सुरक्षित र बहुउपयोगी बनाउने अपेक्षा लिइएको छ ।




स्रोत : अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरू । तस्बिरहरु : सिन्ह्वा