अमेरिका । तपाईंको बाल्यकालमा भएका घटना या कुनै समयमा भएका दुर्घटना तपाईंको मस्तिष्कमा कति समयसम्म सञ्चय भएर बस्छन् ? त्यसले कतै तपाईंको जीवनको उत्तरार्धमा गम्भीर समस्या लिएर डिप्रेसनको सिकार पो भएको छ कि ?
अर्थात् चिकित्सकको भाषामा ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ अर्थात् गम्भीर दुर्घटनापछिको मनोवैज्ञानिक सन्त्रास मानव जीवनमा आजीवन समस्याको रुपमा रहन पनि सक्छ ।
वास्तवमा मानव जीवनमा आइपर्ने यस्ता अनेकन विस्मृतिलाई मस्तिष्कमा भण्डारण गरेर राख्ने सूक्ष्म कोषिकाहरु र त्यसअनुसारको निर्मित प्रोटिनहरुले मस्तिष्कलाई क्रियाशील बनाउनका लागि कसरी काम गरिरहेको छ ? त्यो आममानिसहरुको लागि चासो हुने कुरा पनि भएन ।
अझ मानिसको मस्तिष्कमा रहेका सूक्ष्म कोषिकाहरुले प्रोटिनको ‘सिन्थेसिस’ संयन्त्रमा भावनात्मक रुपले कसरी प्रतिक्रिया दिन प्रेरित गरिरहेको हुन्छ भन्ने विषय झन् जटिल हो ।
नेपालबाट अमेरिका आएर बिसौँ वर्ष न्युरो साइन्समा अभ्यास गरिरहेकी डा. प्रेरणा श्रेष्ठ भने यही विषयलाई नै आफ्नो अध्ययनको प्रमुख विषय बनाएकी छन् । सोही विषयको प्राथमिकताका कारण उनले अहिले लोभलाग्दो सफलता हासिल गरेकी छन् ।
अमेरिकाको न्युयोर्क राज्यको स्टोनी व्रुक युनिभर्सिटीमा न्युरो बायोलोजी एन्ड बिहेभियर विभागमा अध्यापन गर्दै आएकी श्रेष्ठलाई यस्तै विषयमा अध्ययनका लागि अमेरिकी सरकारी निकाय नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थले २२ लाख डलर अर्थात् आजको विनिमय दरमा २९ करोड २५ लाख रुपैयाँबराबरको रकम उपलब्ध गराउने भएको छ ।
अनुसन्धानका लागि उपलब्ध हुने २२ लाख डलरको अनुदानपश्चात श्रेष्ठले भनिन्, ‘यो मेरो कामको लागि पुरस्कार जत्तिकै महत्वपूर्ण हो ।’
श्रेष्ठका अनुसार मानिससँग मिल्दोजुल्दो आनीबानी भएका मुसामा अध्ययन गरिने विधिअनुसार (जसलाई मस्कुलर विधि पनि भनिन्छ,) उनको टोलीले किन मस्तिष्कमा लामो समयसम्म यस्तो विषय रहिरहन्छ भन्नका लागि औजार जडान गरी अध्ययन गर्नेछ ।
आगामी सन् २०२७ को अक्टोबरसम्ममा अध्ययन सकिने गरी हुन लागेको यो अध्ययनले भविष्यमा यस्ता समस्यामा रहेका मानिसको उपचार विधि र पद्धति तर्जुमा हुनसक्ने श्रेष्ठ बताउँछिन् ।
अमेरिकी सरकारले नागरिकको स्वास्थ्यको महत्वपूर्ण हिस्सा मानिएको मानसिक स्वास्थ्यसम्बन्धी काम गर्ने सरकारी निकायका अनुसार ३.६ प्रतिशत वयस्कमा जीवन कालमा भएका कुनै घटना, दुर्घटनाका कारण दीर्घकालीन रुपमा मनोवैज्ञानिक सन्त्रासको जीवन बिताउन बाध्य भएका छन् ।
त्यसैले यसलाई वैज्ञानिक तरिकाले कसरी अनुसन्धान गरेर दीर्घकालीन रुपमा मानसिक स्वास्थ्य सबल वनाउन सकिन्छ भनेर नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थले विभिन्न कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दे आएको छ ।
सरकारी निकायको रुपमा रहेको यसले मानव मस्तिष्कमा भावनात्मक उत्तेजनाले पार्ने असरलाई न्यूनीकरण गर्दे मानसिक स्वास्थ्यलाई जटिल बन्न नदिनेलगायत उद्देश्य अनुरुप काम गर्दे आएको छ । श्रेष्ठको अनुसन्धान मानव मस्तिष्कमा कसरी भावनात्मक स्मरण लामो समयसम्म रहन्छ भन्नेमा केन्द्रित हुनेछ ।
श्रेष्ठको अमेरिका आगमन
प्रेरणा श्रेष्ठको अमेरिकाको आगमन रमाइलो छ । सन् १९९९ मा उनलाई अमेरिकामा आउने वा कुनै देशमा एमबिबिएस अध्ययन गर्न जाने ।
त्यसैबेला उनी अमेरिकामा पूर्ण छात्रवृत्तिमा बायोकेमेस्ट्री अध्ययनका लागि आइन् । अमेरिकामा मेडिकल कलेजमा भर्ना हुन चार वर्षको कोर्स आवश्यक पर्ने भएकाले मेडिकल स्कुलका लागि पूर्वतयारी कक्षामा सामेल भएकी थिइन् ।
अमेरिका आएपछि सन् २००२को ग्रीष्मयाममा वैज्ञानिक अनुसन्धानका लागि हार्डवर्ड युनिभर्सिटीको सेल वायोलोजी ल्याबमा दिएको परीक्षामा सफलता हात पारेपछि उनलाई अनुसन्धानमा झनै बढी रुचि भयो । त्यसपछि उनी आफूले सिकेको विषय र मानव मष्तिष्कका बारेमा थप ज्ञान हासिल गर्न विद्यावारिधि कार्यक्रममा सामेल भइन् ।
न्युरो साइन्समा दुई दशकदेखि काम गर्दे आएकी श्रेष्ठ आफ्नो जीवनलाई निर्णायक मोडमा पुरयाउने काम भने हार्डवर्ड युनिभर्सिटीले दिएको रिसर्च फेलोको रुपमा ल्याबमा दिएको अवसरलाई मान्छिन् ।
उक्त ल्याबमा उनले मानव मस्तिष्कको विषयमा महत्वपूर्ण अनुसन्धान गर्न पाइन् । सोही अनुसन्धान सकिएपछि उनलाई मानवको विषयमा थप अध्ययन गर्ने मार्ग पहिल्याउने सफलता प्राप्त भयो । निरन्तरको अध्ययन र अनुसन्धानपछि सन् २०११ मा रकफेलर युनिभर्सिटीबाट लाइफ साइन्समा विद्यावारिधि गरिन् ।
मानव मस्तिष्कका बहुआयामिक पाटोलाई केलाउने क्रममा आफूले महत्वपूर्ण ज्ञान हासिल गर्न सफल भएको उनको भनाइ छ । हाल स्टोनी ब्रुक युनिभर्सिटीमा सहप्राध्यापक रहेकी श्रेष्ठले तीन वर्षअगाडि श्रेष्ठ ल्याब भनेर अनुसन्धान केन्द्र स्थापना गरेकी थिइन् ।
दस जनाको टोलीले उक्त प्रयोगशालालाई सञ्चालन गरेको छ । नेपालको आदर्श विद्या मन्दिरबाट विद्यालय शिक्षा अध्ययन र बूढानीलकण्ठबाट ‘ओ’ र ‘ए’ लेभलको अध्ययन पूरा गरेकी श्रेष्ठले अमेरिका आएर १२ वर्षको अनवरत अध्ययन अनुसन्धानपश्चात् विद्यावारिधि उपाधि हासिल गरेकी हुन् ।
श्रेष्ठ मानव भएर केवल व्यक्तिगत फाइदाको विषयमा मात्र केन्द्रित हुन नहुने भएकाले त्यसलाई अझै विस्तार गर्न योगदान गर्नुपर्ने धारणा राख्छिन् ।
काठमाण्डौँको कमलादीमा जन्मिएकी श्रेष्ठ मानव शरीरको जटिल मानिने मस्तिष्क विज्ञानसँग जोडिनु बुबा र आमाको देन भएको बताउँछिन् । ‘मेरा पिताजी मंगलमोहन श्रेष्ठ र आमा मैया श्रेष्ठले मेमोरी कन्सर्न भनेर खोल्नुभएको फोटो स्टुडियो र मेरो मानव मेमोरीमा काम गर्ने रोडम्यापले कतै न कतै समन्वय गरेको छ कि भन्ने अनुभूतिमा हुन्छ,’ उनले भनिन् ।
सन् २०१५ को नेपालको भूकम्प र २०१९ कोरोना महामारीका कारण कतिपय मानिसमा मानसिक स्वास्थ्यमा असर परेको हुनसक्ने उनको बुझाइ छ । ‘मैले हासिल गरेको अनुभव र सीपलाई नेपाली भूमिमा साटासाट गर्न म सदैव तयार छु,’ उनले भनिन् ।
नेपालमा पनि सरकारी निकायबाट अध्ययन अनुसन्धान ,विज्ञानको क्षेत्रलाई महत्वमा राखेर कुनै न कुनै तरिकाले प्रोत्साहन दिन सक्नुपर्ने उनले बताइन् । ‘स्रोत र साधनको परिचालनलाई विविधीकरण गर्न गाह्रो पर्ने नेपालजस्ता देशमा वैज्ञानिक अध्ययन अनुसन्धानको लागि सरकारले प्रोत्साहन दिने र दीर्घकालीन रणनीतिअनुसार काम गरेको खण्डमा मात्र वैज्ञानिक र अनुसन्धानकर्ताहरुलाई आकर्षित गर्न सकिन्छ,’ उनले भनिन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal