• Menu

स्थानीय सरकारको तरक्की : भेँडाबारीको गौचरनमा लहलह तोरीखेती

नेपाल प्रफिट

२०८१ पुस १४, १७:१९

स्थानीय सरकारको तरक्की : भेँडाबारीको गौचरनमा लहलह तोरीखेती

नवलपुर । नवलपरासीको गैँडाकोट–११ मा पर्ने भेँडाबारी फाँटमा सिँचाइ सुविधा पुगेपछि यहाँको पहिचान विस्तारै फेरिँदै गएको छ । केही वर्ष अगाडिसम्म हिउँदमा सुक्खा भएर गौचरनका रूपमा प्रयोगमा आउने उक्त फाँट अहिले तोरीले पहेँलपुर हुन थालेको छ ।

पहिलो स्थानीय तहको निर्वाचन २०७४ बाट निर्वाचित भएर आएका जनप्रतिनिधिको प्रयासले विस्तारै यस ठाउँमा परिवर्तन देखिन थालेको स्थानीय बताउँछन् । गैँडाकोट नगरपालिकाले यहाँको जमिनलाई सिँचाइ सुविधा पुर्‍याउन बोरिङ गाड्ने र सिँचाइको कुलो बनाउने काम गरेसँगै परिवर्तन आएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चैतेधानको पकेट क्षेत्रका रूपमा परेको यो ठाउँ धानजोनमा परिणत हुन लागेको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले जानकारी दिए । यहाँ बोरिङ र सिँचाइको व्यवस्था गर्दै दुई खेती धान फल्ने वतावरण सिर्जना गरिएको उनले बताए ।

‘धानसँगै तोरी पनि उत्पादन गर्नका लागि तोरी पकेट क्षेत्र बनाउन हामीले यो वर्ष तोरीमा लगानी गरेका छौँ,’ उनले भने, ‘कृषकलाई करिब चार सय बिघामा तोरीखेती गर्न ५० प्रतिशत अनुदानमा बीउ वितरण गरेका छौँ ।’ नगरपालिकाले खेतबारीमा सिँचाइ सुविधासँगै बीउमा अनुदान दिँदा पूरै फाँटमा तोरी फुलेर पहेँलै भएको उनको भनाइ छ ।

भेँडाबारीमा चैतेधानसँगै बर्खेधान पनि लहलह झुल्दै आएको अधिकारीले बताए । पालिकाले निरन्तर रूपमा सिँचाइको व्यवस्था गरेको छ । पालिकाले सहयोग गरेकाले किसान पनि उत्साहित भएर धान, तोरी, विभिन्न जातका तरकारी र सागसब्जी खेती गरिरहेको उनले बताए ।

भेँडाबारीको केही क्षेत्रमा अझै सिँचाइ पुगेको छैन । यस वर्षको बजेटले भत्किएको बाँध मर्मत तथा थप बोरिङ निर्माणको व्यवस्था गरिएको नगर प्रमुख अधिकारीले बताए । ‘हामीले क्रमशः अन्य वडामा खेती विस्तार गर्दै ठूला बोरिङ निर्माण गर्ने योजना बनाएका छौँ,’ उनले भने, ‘नमुनाका लागि वडा नं ११ मा उन्नत जातको तोरीको बीउ वितरण गरिएको छ । उत्पादन राम्रो भएमा तोरीखेतीलाई अझै विस्तार गरेर लैजाने योजनामा छौँ ।’

तोरीको उत्पादनअनुसार पालिकाले बजारीकरणमा सघाउने नगरप्रमुख अधिकारीले बताए । यहाँ उत्पादन हुने खाद्यान्न सामग्री बिक्री वितरणका लागि समस्या नभएको र पालिकाभित्रै ठूला मिलसँग समन्वय गरिने उनले जानकारी दिए ।

गैँडाकोट–११ का अध्यक्ष गोविन्दप्रसाद सुवेदीले यसअघिका वर्षमा भेँडाबारीमा तोरीखेती थोरै मात्रामा हुने गरेकामा सिँचाइ सुविधा पुगेपछि खेती विस्तार हुँदै गएको बताए । ‘केही किसानले लगाउने सबै तेरीखेतीमा लाई कीरा लागेर उत्पादन नहुने अवस्था थियो,’ उनले भने, ‘भेँडाबारी फाँटमा हिउँदको समयमा पानी हुँदैनथ्यो । अहिले सिँचाइ पुगेपछि हिउँदमा पनि फाँट हराभरा भएको छ ।’

स्थानीय तह निर्वाचन २०७४ पछि यस ठाउँलाई परिवर्तन गर्नुपर्छ भन्ने सोचका साथ वडा र स्थानीय कृषक समूहको संयुक्त प्रयासमा हरेक वर्ष कुलो पक्की बनाउने र थप्ने, कुलोको छेउमा बाटो, बत्ती र पानी पुर्‍याउने योजनामा पालिकासँग समन्वय गरी अघि बढिएको अध्यक्ष सुवेदीले बताए ।

गैँडाकोट–११ की कृषक चन्द्रकला महतोले २५० किसानले चार सय बिघामा तोरीखेती गरेका बताइन् । पहिला स्थानीय प्रजातिको तोरीखेती गरिने गरिएकोमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा ‘मोरङ–२’ र ‘उन्नत’ जातका बीउ दिएपछि त्यसकै खेती गरिएको उनले जानकारी दिइन् ।

केही वर्षदेखि यहाँ तीन खेती अन्न उब्जनी हुने गरेको र किसानलाई फाइदा हुँदा खेती गर्ने क्षेत्रफल र किसानको संख्या बढ्दै गएको उनको भनाइ छ । तोरीको उत्पादन राम्रो भएकाले व्यावसायिक तोरीखेतीतर्फ आफूहरू आकर्षित भएको उनले बताइन् ।

उत्पादन भएको अन्नबालीको बजारीकरणमा नगरपालिका र वडा कार्यालयले समन्वय गरिरहेकाले समस्या छैन । कृषक समूहले बिक्रीको प्रबन्ध गरिदिने गरेका छन् । बालीमा दिइने अनुदानका कार्यक्रमले किसानलाई खेतीतर्फ प्रोत्साहन गरिरहेको छ ।

यसवर्ष गैँडाकोट नगरपालिकाको भेँडाबारी ब्लकमा चार सय बिघासँगै पालिकाभित्र करिब दुई हजार बिघामा तोरीखेती गरिएको छ । पालिकाले चार सय बिघामा तोरीको बीउमा अनुदान दिएको छ । गैँडाकोट–११ लाई केन्द्रमा राखेर १२, १४ र १५ लाई पनि समेट्दै खेती विस्तार गर्ने तयारी गरिएको पालिका कार्यालयले जनाएको छ ।