• Menu

अपडेट

दक्षिण कोरिया विमान दुर्घटनामा १७९ जनाको मृत्यु, दुईको उद्धार

नेपाल प्रफिट

२०८१ पुस १४, ११:५१

दक्षिण कोरिया विमान दुर्घटनामा १७९ जनाको मृत्यु, दुईको उद्धार

काठमाडौँ । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु भएको छ । एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ-७३७ विमान आइतबार बिहान अवतरणका क्रममा दुर्घटना भएको हो । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए ।

योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैंकबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो । यो विमानस्थल राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्छ ।

दक्षिण कोरियाली टेलिभिजनमा बोल्दै जेजु एयरका प्रमुख कार्यकारी अधिकृतले विमान दुर्घटनामा परेका पीडितहरूप्रति माफी मागेका छन् ।

विमान दुर्घटनाको कारण भने खुलिसकेको छैन । दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ ।