• Menu

होन्डा र निसानबीच मर्जरको तयारी, विश्वबजारसँग प्रतिस्पर्धामा अब्बल बन्न रणनीतिक साझेदारी

नेपाल प्रफिट

२०८१ पुस ४, १५:१२

होन्डा र निसानबीच मर्जरको तयारी, विश्वबजारसँग प्रतिस्पर्धामा अब्बल बन्न रणनीतिक साझेदारी

एजेन्सी । जापानका अटो कम्पनीहरु होन्डा र निसानबीच एकीकरण (मर्जर) का लागि प्रारम्भिक छलफल सुरू भएको छ । यो सम्झौताले टेस्ला र अन्य विद्युतीय सवारी साधन निर्माता कम्पनी निक्केई, फाइनान्सियल टाइम्स र अन्यसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्ने बताइएको छ ।

यी दुई कम्पनीबीच गत मार्चमा विद्युतीय सवारी साधनमा रणनीतिक साझेदारी गर्न सहमति भएको विश्लेषकहरूले बताएका छन् । होन्डाका एक प्रवक्ताले बुधबार सम्भावित एकीकरणको सम्भावनाबारे छलफल भइरहेको जानकारी दिए ।

‘हामी भविष्यमा होन्डा र निसानबीच सहयोगका लागि सम्भावनाहरूबारे छलफल गरिरहेका छौँ तर केही निर्णय गरिएको छैन,’ अन्तर्राष्ट्रिय समाचार एजेन्सीसँग उनले भनेका छन् ।

निसानले पनि गत मार्चमा घोषणा गरिएअनुसार होन्डा र निसानले भविष्यमा सहकार्यका लागि विभिन्न सम्भावनाको खोजी गरिरहेको उल्लेख गरेका छन् । ‘सहकार्यका विषयमा कुनै प्रगति भएमा हामी उपयुक्त समयमा हाम्रा सरोकारवालाहरूलाई सूचित गर्नेछौँ,’ निसानले भनेको छ ।

विशेष गरी निसानले गत महिना नौ हजार रोजगारी कटौतीको घोषणा गरेको थियो र यसको वार्षिक बिक्री पूर्वानुमान पनि घटाएको थियो ।

प्रारम्भिक छलफल सुरू भएको घोषणाले बुधबारको सुरुवाती कारोबारमा निसानको सेयर मूल्य २० प्रतिशतभन्दा अधिकले बढेको थियो भने होन्डाको सेयर १ प्रतिशतभन्दा बढीले घटेको छ । त्यस्तै मित्सुबिसी मोटर्सको सेयर मूल्य १४ प्रतिशतले बढेको छ ।