• Menu

वीरगन्जबाट ९.४१ प्रतिशतले डिजेलको आयात घट्यो

नेपाल प्रफिट

२०८१ मंसिर २७, ११:३६

वीरगन्जबाट ९.४१ प्रतिशतले डिजेलको आयात घट्यो

पर्सा । वीरगन्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात ९.४१ प्रतिशतले घटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

डिजेल आयात घटेसँगै राजस्व पनि १५.१६ प्रतिशतले घटेको छ । आव २०८१/८२ को चार महिनामा २१ अर्ब ८४ करोड ८ लाख ७६ हजारको दुई लाख ४६ हजार ७ सय १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व संकलनमा असर परेको बताए ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताए । उनले भने, ‘सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ । त्यसो नगरे पुँजीगत खर्च बढ्दैन।’

त्यसैगरी, चालु आवको चार महिनामा १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको एक लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको एक लाख २९ हजार एक सय २६ किलोलिटर पेट्रोल आयात भएको थियो ।