इलाम । सूर्योदय नगरपालिका–७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ । कोसी प्रदेश सरकार र नगरपालिकाको २३ करोड लगानीमा बनेको उक्त सेन्टर यही मंसिर २७ देखि सञ्चालनमा आउन लागेको हो ।
नगरप्रमुख रणबहादुर राईले मंसिर २७ गते कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।
‘उद्घाटनमा प्रदेशका अन्य मन्त्रीहरू पनि आउनुहुन्छ,’ उनले भने, ‘यो मुलुकको पहिलो चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र हो, केन्द्रको पूर्वाधार निर्माणको सबै काम सम्पन्न भएको छ ।’
अहिले सेन्टरको भौतिक पूर्वाधार तयार भएको भन्दै आवश्यक उपकरणसमेत जडान भएका नगरप्रमुख राईले जानकारी दिए । उनका अनुसार केन्द्रमा चिया चाख्ने (टि टेस्टिङ)को काम हुनेछ भने चिया अनुसन्धानका लागि भौतिक पूर्वाधार तयार छ ।
‘आवश्यक थप उपकरण व्यवस्थापन गरिँदैछ । इलामका लागि मात्र होइन, यो सेन्टर देशका लागि पनि नमूना हुने विश्वास लिएका छौँ,’ राईले भने, ‘चियाको स्वाद, गुणस्तर जाँचदेखि चियासम्बन्धी सबै किसिमका अध्ययन यही केन्द्रमा हुनेछ ।’ केन्द्रमा विश्वभरका जोसुकै चिया व्यापारी वा टी–इन्स्पेक्टर चियाविज्ञ ले चियाको गुणस्तर जाँच गर्न सक्ने उनले बताए ।
कन्याम घुम्न आउने पर्यटकले थरिथरिका चियाका स्वाद लिन पाउने नगर कार्यालयले जनाएको छ । सेन्टर सञ्चालनका लागि नगरले कार्यविधि तयार गरेको छ । नगरप्रमुख राईले टि टेस्टिङ नगरअन्तर्गत हुने बताउँदै अनुसन्धानको काम भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले गर्ने जानकारी दिए ।
चिया रोप्न सुरु भएको करिब एक सय ६० वर्षपछि इलाममा अनुसन्धान केन्द्र निर्माण हुँदा यहाँका किसानमा उत्साह थपिएको छ । चिया किसान मनोज भट्टराईले केन्द्र स्थापनापछि चियामा लाग्ने स–साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताए । चिया प्राविधिकसमेत गाउँमा उत्पादन गर्न केन्द्रले मद्दत गरेमा किसानलाई थप सहज हुने उनको भनाइ छ ।
‘यहाँ सामान्यतया चिया प्रशोधन कम हुने, उत्पादन भएको चिया परम्परागत शैलीमा टिप्ने र प्रशोधन हुँदै आएको छ । अनुसन्धान केन्द्रले चियामा नयाँ आयाम स्थापना गर्न मद्दत पुग्ने आशा छ,’ भट्टराईले भने । चियाका लागि प्रख्यात इलामको कन्याम चियाबारीबीचमा निर्मित केन्द्रमा पर्यटक थप आकर्षित हुने विश्वास लिइएको उनले बताए ।
केन्द्र चियाको व्यापार प्रवर्धन सहयोगी बन्ने कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले बताए ।
‘अहिले गुणस्तरीय चिया जाँच गर्ने, यसको व्यापार र गुणस्तर प्रवर्द्धन गर्न किसानलाई समस्या भइरहेको छ,’ उनले भने, ‘अब कन्याममा मुलुकको नमूनाका रूपमा अनुसन्धान केन्द्र स्थापना भएको छ ।’
चिया उत्पादनका हिसाबले इलाम महत्वपूर्ण र उर्वरभूमि मानिन्छ । सूर्योदय नगरपालिकालाई चियाको राजधानीका रूपमा चिनिएको छ । यहाँ अनुसन्धान केन्द्र स्थापना भएपछि नेपाली चियासम्बन्धी अनुसन्धान गर्न चाहनेलाई सहज हुने जनाइएको छ ।
किसान धीरज अधिकारीले भने, ‘स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्ने आउने हुँदा हाम्रो जिल्लामा पर्यटकको संख्यामासमेत वृद्धि हुने अपेक्षा छ ।’ नगरपालिका कोसी प्रदेशको पर्यटकीय नगरी भएकाले पनि केन्द्र स्थापनापछि पर्यटक आगमन बढ्ने उनले उल्लेख गरे ।
केन्द्र निर्माणले समग्र जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकार भएकाहरू बताउँछन् । नगरपालिकामा अन्य ठूला लगानीका आयोजनामध्ये कुनै निर्माणको अन्तिम चरणमा छन् भने कुनै निर्माण भइरहेका राईले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय दातामार्फत केही ठूलो लगानीका आयोजना आउने चरणमा छन् ।
जिल्लामा उत्पादित चिया १० प्रतिशत नेपालमा, ७० प्रतिशत भारत र थप २० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको जनाइएको छ ।