डडेल्धुरा । काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन् । २२ वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक ४० हजार आर्जन हुने गरेको बताइन् ।
अमरगढी नगरपालिका–२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक ४० हजार आर्जन गर्दै आएकी हुन् ।
मध्यम वर्गीय परिवारमा जन्मिएकी पूजाले धेरै हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेको बताइन् । १७ वर्षको उमेरमा बिहे गरेकी उनले चार वर्ष धेरै संघर्ष गरिन् ।
६ महिना यता ठेलामा व्यापार थालेकी उनी दैनिक १२ घण्टा काम गर्छिन् । उनको मासिक आम्दानी घरखर्चमा मात्र सकिँदैन उनले बचत पनि गरेकी छिन् ।
श्रीमान्ले अरु सबै कुरामा साथ र सहयोग गरे पनि यो ठेलामा भने उनी बिहानदेखि साँझसम्म एक्लै हुन्छिन् । सबै सामान आफैँले जुटाउ छिन्। अनि सबै परिकार आफैँ बनाउन उनलाई दिनभर भ्याइनभ्याइ हुन्छ । महिलाहरु चुलोचौकोमै सीमित हुँदा आर्थिक सामाजिक र राजनीतिकरुपमा पछि परेका उनको बुझाइ छ ।