• Menu

अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च

नेपाल प्रफिट

२०८१ मंसिर १३, ११:१३

अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च

एजेन्सी । ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने भएसँगै अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ । न्युयोर्कमा सूचीकृत अरेबिका कफीको एक पाउन्डको मूल्य ३० वर्षयता उच्च मूल्य स्तर पार गर्दै ३२०.१० अमेरिकी सेन्ट पुगेको छ ।

ब्राजिलमा उत्पादन हुने अरेबिका कफीको मूल्य सन् १९७७ मा अहिलेसम्मकै उच्च ३३७.५० अमेरिकी सेन्ट थियो । विश्वको सबैभन्दा ठूलो कफी उत्पादक देश ब्राजिलले यस वर्ष कीर्तिमानी खडेरीको सामना गर्नुपरेको र यसले सन् २०२५/२०२६ मा कफीको उत्पादनमा ह्रास आउने भएपछि मूल्य बढेको हो ।

नेदरल्यान्डस्थित राबो बैंकका वरिष्ठ विश्लेषक गुइल्हर्मे मोरियाका अनुसार अक्टोबरमा आएको ‘उल्लेखनीय वर्षा’ले बालीनालीलाई फाइदा पुर्‍याए पनि कफीको मूल्य भने प्रभावित भएको छ ।

विश्लेषकहरूका अनुसार ‘रेड सी’ मा ढुवानीमा अवरोध, सम्भावित अमेरिकी कर वृद्धि र भविष्यमा वन फँडानीमा युरोपेली युनियनको नियमनजस्ता भू–राजनीतिक कारकहरूले पनि मूल्य वृद्धिलाई बढावा दिएको छ ।

‘माग उच्च रहे पनि ‘किसानले आवश्यक पर्ने मात्रा’ मात्र बिक्री गर्न रोजेका छन्, जसले गर्दा स्थानीय बजारमा कफीको आपूर्ति सीमित भएको छ,’ मोरयाले भने ।

धेरै अवधि सुक्खापनको सामना गरेको भियतनामले पनि यस वर्ष पनि तत्काल कफीको लागि प्रयोग गरिने सस्तो ‘रोबस्टा बिन’को आपूर्तिमा अभावको सामना गरेको बताइएको छ ।

लन्डनमा सूचीकृत रोबस्टाको मूल्य प्रतिटन पाँच हजार २ सय अमेरिकी डलरको हाराहारीमा रहेकोमा सेप्टेम्बरको मध्यमा पाँच हजार ८२९ अमेरिकी डलर पुगेको थियो ।