• Menu

पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै, चार महिनामा ४७८ जनाले गरे अवलोकन

नेपाल प्रफिट

२०८१ मंसिर १२, बुधबार १५:४७

पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै, चार महिनामा ४७८ जनाले गरे अवलोकन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

यसअघि नेपाल बाहिर विशेषगरी छिमेकी मुलुक भारतका भक्तजन आउने गरेको पाथीभरामा अमेरिका, जापान, थाइल्यान्ड, नेदरल्यान्डलगायत मुलुकहरूबाट पनि पर्यटक आउन थालेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।

उनका अनुसार मंगलबार मात्रै १२-१५ जना विदेशी नागरिक पाथीभरा आएका छन् । नेदरल्यान्डसहित अन्य देशबाट आएका पर्यटकले पाथीभरामा पूजाआजासँगै हिमालको अवलोकन गरेको उनले बताए ।

मंगलबार नेदरल्यान्डका नागरिक लिएर पाथीभरा आएका जेआरएन ट्रेक एन्ड एक्सपिडिसनका गाइड रवि लामाले आफूले तेस्रो पटक पाथीभरामा विदेशी नागरिक लिएर आएको बताए । उनीसँग आएका पर्यटकले नेपालको धर्म र प्रकृतिलाई मन पराउने प्रतिक्रिया दिएका थिए ।

साउनदेखि कात्तिक मसान्तसम्ममा चार सय ७८ जना विदेशी नागरिक पाथीभरामा आएका छन् । यसमा सबैभन्दा बढी भारतबाट आएको काफ्लेपाटीस्थित पर्यटक सहायता प्रहरी कक्षका प्रहरी सहायक निरीक्षक शिशिर कोइरालाले बताए ।

धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाथीभराको प्रचारप्रसार प्रवर्धनसँगै विदेशी पर्यटकको चहलपहल बढेको पाथीभरा क्षेत्र विकास समितिको भनाइ छ । पर्यटकीय पूर्वाधार विस्तार र पर्यटन प्रवर्धन गर्दै गएमा दिनानुदिन बाह्य पर्यटकको संख्या बढ्दै जाने समितिको विश्वास छ ।

हरेक वर्ष स्वदेशी तथा विदेशी गरी लाखौँ भक्तजनले आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ पाथीभराको दर्शन गर्ने गरेका छन् । पाथीभरामा आउने आन्तरिक तथा बाह्य पर्यटकको शान्तिसुरक्षा तथा सहजताका लागि केही महिना अघिदेखि पाथीभरा पदमार्गमा पर्ने काफ्लेपाटीमा पर्यटक सहायता प्रहरी कक्ष स्थापना गरिएको छ ।

समितिले पाथीभरामा आउने भक्तजनको सहजताका लागि पाथीभरा पदमार्ग, शौचालय, खानेपानी लगायतका भौतिक पूर्वाधारको स्तरोन्नति तथा निर्माण गर्ने कार्य गरिरहेको छ । हाल मन्दिर क्षेत्रमा सहज सञ्चार सुविधाका लागि इन्टरनेटसहितको टेलिफोन टावर निर्माण गर्ने र पदमार्गमा सोलार बत्ती जडानका लागि पहल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्