सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजुभाइ कृषि फर्म दर्ता गरी गाउँमै सुरु गरेको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका हुन् ।
सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश फर्किएपछि आफूहरुले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताए । पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि उनीहरुले राम्रो आम्दानी गरिरहेका छन् ।
उनका अनुसार हाल सबै खर्च कटाएर वार्षिक १२ लाख सजिलै बचत हुने गरेको छ । हाल उहाँहरुले पाँच वटा टनेलमा च्याउ खेती गरेका छन् । च्याउ बजारमा थोकमा प्रतिकिलो एक सय ७० र फर्ममै किन्न आउने व्यापारीलाई एक सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए ।
‘च्याउ बिक्रीका लागि बजारको समस्या छैन । उत्पादन भएको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थानीय बजार चक्रघटी, कालाबजार बराहक्षेत्र चतरालगायतमा पुग्ने गरेको छ,’ रोशनले भने ।
तत्कालीन समयमा ५० हजार लगानीमा सुरु गरेको च्याउ खेतीमा अहिले लगानी लाखौँमा पुगेको छ भने यहीबाटै परिवारका ६ सदस्यलाई रोजगारी पनि मिलेको छ । त्यसबाहेक थप करिब १० जनालाई जागिर पनि प्राप्त भएको छ ।
मासिक तलबमा काम गर्नेले मासिक १५ हजार र दैनिक ज्यालादारीमा काम गर्नेले पाँच सय रुपैयाँ काम गरिरहेका छन् । ‘व्यापार भएकाले सधै एकनास हुँदैन, कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ,’ उनले भने, ‘च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता भने पर्छ ।’
च्याउखेतीका लागि पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बाँस र खरले छाएको टहरासँगै प्लास्टिक पनि चाहिन्छ । विषादीको प्रयोग हुँदैन । स्वास्थ्यका लागि पनि राम्रो मानिने भएकाले यसको माग पनि बढ्दो रहेको रोशनले बताए । उनका अनुसार हाल दैनिक तीन सय ५० किलोसम्म च्याउ बिक्री भइरहेको छ ।
साउनदेखि असोजको समय धेरै बिक्री हुने उनको अनुभव छ । वर्षमा नौ महिना च्याउको राम्रो उत्पादन हुन्छ । ‘विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुने रहेछ । अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न,’ उनले भने ।
उनले च्याउ खेतीका लागि गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्रबाट एक लाख अनुदान पाएका थिए भने यस वर्ष बराहक्षेत्र नगरपालिकाले ९० हजार रुपैयाँ अनुदान दिएको थियो ।