काभ्रेपलाञ्चोक । जिल्लाको नमोबुद्ध नगरपालिकाका ८ सय ४५ बाढीपहिरो पीडित परिवारलाई राहत विरतण गरिएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफद्वारा प्राप्त रकमबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको नगर कार्यालयले जनाएको छ ।
युनिसेफले नगरलाई एकमुष्ठ उपलब्ध गराएको एक करोड ५० लाख ४० हजार ५ सयबाट नगरले वडागत रूपमा पीडित परिवारलाई राहत रकम प्रदान गरिएको प्रदान गरिएको नगरप्रमुख कुन्साङ लामाले बताए । उनले भने, `मंगलबारदेखि ६ नं वडाबाट राहत प्रादन गर्न सुरु गरेका थियौँ, बुधबारदेखि सबै वडामा क्रमशः वितरण गरिरहेका हौँ ।`
नगरप्रमुख लामाका अनुसार नगरभित्रका पीडित प्रतिपरिवारले १५ हजार तथा तीन सय ९२ परिवारले २० हजारका दरले राहत पाउने छन् । युनिसेफबाट उपलब्ध गराइएको रकम पाएका परिवारले संघीय सरकारबाट घोषित अल्पकालीन राहत पाँच जनासम्मको परिवारलाई १५ हजार र पाँचभन्दा बढी सदस्य भएका परिवारलाई २० हजार भने तत्काल उपलब्ध नगराइने नगरप्रमुख लामाले उल्लेख गरे । सरकारको नीति अनुसार पीडितलाई राहत प्रदान गरिएको उनले बताए ।
युनिसेफको नेपालका प्रमुख एलिस अकुङ्ले मंगलबार वडा नं ६ का पीडितलाई राहत प्रदान गरी कार्यक्रमको सुरुआत गरेका थिए । बाढीपहिरोले नगरका ५ सय ३० घर पूर्ण र तीन सय १५ घर आंशिक रूपमा क्षति भएका जनाइएको छ ।
नगर कार्यालयका अनुसार बाढीपहिरोबाट ३ हजार ३ सय ८५ जना प्रभावित भएका छन् । नगरको एक विद्यालय पूर्ण र ४७ विद्यालयमा आंशिक क्षति पुगेको छ भने एक सय १९ खानेपानी आयोजनामा क्षति पुगेको नगरप्रमुख लामाले जानकारी दिए ।
युनिसेफले यसअघि जिल्लाको बेथानचोक गाउँपालिकाको दुई वडाका दुई सय ६९ र मण्डनदेउपुर नगरपालिकाका करिब नौ सय परिवारलाई राहत रकम उपलब्ध गराइसकेको छ ।