• Menu

रामेछापमा जुनार उत्पादन ४० प्रतिशतले बढ्यो

नेपाल प्रफिट

२०८१ मंसिर ९, ११:४५

रामेछापमा  जुनार उत्पादन ४० प्रतिशतले  बढ्यो

रामेछाप । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो ।

रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा व्यावसायिकरुपमा जुनारखेती गरेका छन् । गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उनले बताए । अघिल्लो वर्ष दुई लाख ५० हजारको जुनार बिक्री भएको तामाङले बताए । यस वर्ष तीन लाख ५० हजारबराबरको जुनार बिक्री गर्ने योजना रहेको उनले बताए ।

रामेछाप–६ का टेकबहादुर तामाङले पनि सात रोपनी जग्गामा जुनारखेती गरेका छन् । गत वर्षको तुलनामा ४० प्रतिशत उत्पादन बढेको उनले बताए । ‘गत वर्ष मैले जुनार बिक्री गरेर ७० हजारमात्र लिन सकेको थिएँ, यस वर्ष एक लाखसम्मको बिक्री हुने अनुमान छ,’ उनले भने ।

सुकाजोरका किसान रामकुमार कार्की, ओखे्रनीकै युगराज पाख्रिन, शेरबहादुर तामाङलगायत किसानले जुनार उत्पादन गरेपछि उनीहरूको आम्दानी पनि बढेको छ ।

रामेछाप नगरापलिकाको हिमगङ्गा, सुकाजोर, ओख्रेनी र मन्थली नगरपालिकाको वडा नं १३ र १४ फुलासीमा जुनार उत्पादन गत वर्षको तुलनामा बढेको किसानले बताएका छन् । जुनार जोन सञ्चालन समन्वय समितिका अध्यक्ष गुञ्जबहादुर कार्कीका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मन्थली र रामेछाप नगरपालिकामा जुनार जोनका रूपमा काम गरिरहेको छ ।

परियोजनाले विभिन्न अनुदान, प्राविधिक सहयोग, कीटनासक औषधि र भिटामिन, यान्त्रिकीकरणजस्ता सामग्रीसमेत किसानलाई वितरण गरेको छ । परियोजना कार्यालयकी प्राविधिक भवानी बस्नेतले मन्थली र रामेछाप नगरपालिका क्षेत्रभित्र लागू भएको जुनार जोन क्षेत्रमा गत वर्ष ५ सय २० हेक्टरमा सुन्तला जातका फलफूल उत्पादन भइरहेकामध्ये जुनार चार सय २२.५, सुन्तला ७८ र कागती २०.८ हेक्टरमा जुनार खेती गरिएको थियो ।

यहाँ ४ हजार ३ सय ८० मेट्रिक टन जुनार फलफूल उत्पादन भई १९ करोड ९३ लाख ९५ हजारबराबरको बिक्री भएको प्राविधिक बस्नेतले बताए ।

यस वर्ष ४ सय ३७ हेक्टरमा जुनार, ८१ हेक्टरमा सुन्तला तथा २२ हेक्टरमा कागतीखेती गरिएकामा ४ हजार ४ सय एक मेट्रिक टन उत्पादन हुँदा २२ करोड ६८ हजारबराबरको बिक्री हुने अपेक्षा गरिएको छ । जुनार उत्पादन बढेपछि यहाँका किसान हर्षित छन् । उनीहरूले बगैँचाबाट नै जुनारको दानाको साइजअनुसार प्रतिकिलो ६० देखि ७५ सम्ममा बिक्री गर्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्