• Menu

बैतडीमा विद्युत महसुल नतिर्ने ६ सय ग्राहकको लाइन काटिँदै

नेपाल प्रफिट

२०८१ मंसिर ७, शुक्रबार १२:२२

बैतडीमा विद्युत महसुल नतिर्ने ६ सय ग्राहकको लाइन काटिँदै

बैतडी । विद्युत महसुल नतिर्ने करिब ६ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो ।

जिल्लामा विद्युत प्राधिकरणका ग्राहकबाट ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुसार विद्युत महसुलबापतको ८० लाख ९९ हजार ३ सय ६२ बक्यौता उठाउन बाँकी छ । मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका ५ सय ७९ ग्राहकबाट उक्त रकम असुल गर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए ।

चौरासी वटा सरकारी कार्यालयबाट १७ लाख १९ हजार दुई सय ३५ बक्यौता उठाउन बाँकी छ । तीमध्ये ५९ वटा सदरमुकामका कार्यालय र २५ वटा पाटन क्षेत्रका कार्यालय छन् । यस्तै अन्य ४ सय ९५ ग्राहकबाट ६३ लाख ८० हजार एक सय २६ बक्यौता असुल गर्न बाँकी रहेको पौडेलले बताए ।

समयमा महसुल नबुझाउने ग्राहकको लाइन काट्ने कार्य सुरु भइसकेको छ । प्राधिकरणले मिटिर रिडिङ भएको ६० दिनभित्र महसुल नबुझाउने ग्राहकको लाइने काट्ने नीति लिएको छ । सोही नीतिअनुसार समयमा महसुल नबुझाउने ग्राहकको यो वर्ष पनि लाइन काट्ने कार्य सुरु भएको पौडेलले बताए ।

बैतडीमा गत आर्थिक वर्षमा समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर ६४ लाख बक्यौता रकम असुल गरिएको थियो । लाइन काटेपछि महसुल तिर्नेहरूको प्राधिकरणले पुनः लाइन जोड्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्