• Menu

सत्यवती मेलामा ३२ लाख बराबर भेटी संकलन 

नेपाल प्रफिट

२०८१ मंसिर ६, बिहीबार १२:१८


पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती मन्दिरमा आयोजना गरिएको सत्यवती मेलामा ३२ लाख बराबर भेटी संकलन भएको छ ।

यसवर्ष लागेको मेलामा श्रद्धालु भक्तजनले दानका रूपमा चढाएका सुन तथा नगदसहित ३२ लाख ८१ हजार ८ सय ७० बराबर भेटी संकलन भएको सत्यवती मन्दिर ताल व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए । गत कात्तिक २७ गतेदेखि ३० गतेसम्म लागेको मेला अवधिभर सो भेटी संकलन भएको हो ।

मन्दिरमा हरेक वर्ष कात्तिक पूर्णिमाको अवसरमा चिच्याएर वरदान माग्ने मेला लाग्दै आएको छ । पूर्णिमा कात्तिक महिनाभित्र परेमा जोग परेको मानिने प्रचलन रहेको गाहाले बताए ।

मेलामा दर्शन गर्न आएका दर्शनार्थीले सुनचाँदी, नगद, जिन्सीलगायत सामग्री दानका रूपमा मन्दिरमा चढाउने गर्दछन् । यसवर्षको मेला करिब तीन लाख दर्शनार्थीले अवलोकन गरेका समितिले जनाएको छ । गतवर्षको मेलामा १८ लाख ५० हजार रकम संकलन भएको थियो ।

सत्यवती बज्जै कान नसुन्ने बहिरी भएकाले चिच्चाएर वरदान माग्नु परेको स्थानीय बुढापाका बताउँछन् । सत्यवती बज्जैसँग चिच्चाएर मागेको वर पूरा हुने भन्दै टाढा–टाढाबाट भक्तजन मन्दिर दर्शन गर्न आउने गरेका छन् ।

सत्यवती मन्दिरको किनारमा ताल रहेकाले भक्तजनले तालको वरिपरि घुम्दै चिच्याएर वरदान माग्ने गर्दछन् । मन्दिर नजिकै तालमा सत्यवती बज्जैलाई सम्झेर बाँसको लिङ्गो गाडी चिच्याएर वरदान माग्ने र अर्को दिन बिहान उज्यालो नहुँदै पूर्णिमाको दिन गाडेको लिंगो उठाएर घरमा ल्याउने प्रचालन रहँदै आएको व्यवस्थापन समितिका अध्यक्ष गाहाले उल्लेख गरे ।

मन्दिर दर्शन गर्न तथा वरदान माग्न पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङका साथै भारतको गोरखपुर, लखनउलगायत क्षेत्रबाट भक्तजन आउने गर्दछन् । सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल खण्डको झुम्सा पानीमिलबाट करिब एक घण्टाको उकालो पैदल दूरी पार गरी सत्यवती मन्दिरमा पुग्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्