• Menu

गण्डकीमा डेङ्गी संक्रमणबाट ८ जनाको मृत्यु

नेपाल प्रफिट

२०८१ कात्तिक ३०, शुक्रबार १२:२३

गण्डकीमा डेङ्गी संक्रमणबाट ८ जनाको मृत्यु

गण्डकी । गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार ३ सय ३९ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण ८ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेङ्गी संक्रमणबाट मृत्यु भएको थियो ।

त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २, १४ र कात्तिक ४ गते गरी क्रमशः ८१, ७०, ७५ र २६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा कास्कीमा सबैभन्दा बढी ८ हजार ९ सय ७९ जना र सबैभन्दा कम मनाङमा मात्र ६ जनामा डेङ्गी संक्रमण पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिए ।

प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा महानगरपालिकामा मात्रै ८ हजार ८ सय ५८ जनामा डेङ्गी संक्रमण पुष्टि भएको उनको भनाइ छ । प्रदेशका १२ वटा स्थानीय तहमा भने अहिलेसम्म डेङ्गीको संक्रमण देखिएको छैन । गत जनवरीमा जम्मा ७० जनामा डेङ्गी देखिएकामा गत सेप्टेम्बरमा ६ हजार २ सय ६७ जना डेङ्गीबाट संक्रमित भएका थिए ।

अक्टुबरमा ६ हजार ४४ र नोभेम्बर सुरु भएयता हालसम्म जम्मा नौ सय ४७ जनामा डेङ्गी देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार कास्कीपछि सबैभन्दा बढी तनहुँमा ३ हजार ८ सय १७, पर्वतमा एक हजार ४ सय ३१, बागलुङमा एक हजार ३ सय ८४, गोरखामा एक हजार एक सय दुई, स्याङ्जामा ७ सय २६, म्याग्दीमा चा४र सय ५६, नवलपुरमा दुई सय ९७, लमजुङमा एक सय २५, मुस्ताङमा १६ र मनाङमा ६ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ ।

असारदेखि कात्तिकसम्म डेङ्गी संक्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी संक्रमण हुने गरेको चिकित्सक बताउँछन् । चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको संक्रमण घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताए ।

‘चिसो याम सुरु भएकाले अब विस्तारै संक्रमण कम हुँदै जान्छ, फागनुदेखि फेरी संक्रमण बढ्न थाल्छ,’ उनले भने । डेङ्गीको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ ।

डेङ्गी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेङ्गीको संक्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तचाप हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको छ ।