दैलेख । भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणले तीव्रता पाएको छ । अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको हो ।
चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले जानकारी दिए ।
चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछि मात्र पेट्रोलियम पदार्थ भए नभएको पत्ता लाग्नेछ । चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँ अनुदानमा जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषण जारी छ ।
महाशाखा, चाइना जियोलोजिकल सर्भे र सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ गरिरहेका छन् । यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आयोजनास्थल आएर पेट्रोलियम अन्वेषणमा भएको प्रगतिबारे जानकारी लिएका छन् ।