एजेन्सी । पाकिस्तानको गिलगिट बाल्टिस्तानमा जन्ती बोकेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । एक विवाह समारोहबाट फर्कंदै गरेको बस मंगलबार राति नदीमा खसेको हो ।
उद्धारका लागि घटनास्थमा खटिएका वजिर असद अलीले भने, ‘बसमा २५ जना सवार थिए र अहिलेसम्म १४ जनाको शव निकालिएको छ भने १० जना अझै हराइरहेका छन् ।’
गिलगिट बाल्टिस्तानको पहाडी क्षेत्रका प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताएका छन् । ‘घटनामा घाइते अवस्थामा उद्धार गरिएकी बेहुली खतरामुक्त छिन् र उनको गिलगित अस्पतालमा उपचार भइरहेको छ,’ अलीले भने ।
त्यस क्षेत्रका एक वरिष्ठ प्रहरी अधिकारी नाइक आलमले एएफपीलाई बताएअनुसार चालकले तीव्र गतिमा गाडी चलाएको जस्तो देखिन्छ । दुलहाको परिवार विवाहका लागि ५ सय किलोमिटरभन्दा बढी टाढा पन्जाबबाट गिलगिट बाल्टिस्तानमा गई बेहुली लिएर घर फर्कंदै गर्दा दुर्घटना भएको हो ।
पाकिस्तानमा सडक दुर्घटनाबाट हुने मृत्युदर अत्यधिक छ । यातायातका पूर्वाधार जीर्ण हुनु, पुराना सवारी साधनको प्रयोग, ट्राफिक नियमको पालनामा लापर्वाहीलगायतका कारण हुने सडक दुर्घटनाका कारण बर्सेनि हजारौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।
बलुचिस्तानको मकरान सामुद्रिक राजमार्गमा गत अगस्टमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । सोही महिना पन्जाब प्रान्त र पाकिस्तान प्रशासित कास्मिरको सिमानामा पर्ने आजाद पट्टन सहरनजिकै एउटा बस सडकबाट खोल्सोमा खस्दा २४ जनाको मृत्यु भएको थियो ।