• Menu

वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा

नेपाल प्रफिट

२०८१ कात्तिक २८, बुधबार ११:०६

वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा

बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती थालेका छन् ।  जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका उनी किबीखेती थालेका हुन् ।

तीन वर्षअघि किबीखेती थालेका उनलाई उत्पादन बेच्न भ्याइनभ्याइ छ । गाउँका अन्य किसानका लागि प्रेरणा बनेका उनी  यो वर्ष सय बोटबाट ६ सय क्विन्टल किबी उत्पादन भएको बताए ।

उनले किबीसँगै कागती पनि फलाएका छन् । जनप्रतिनिधि भइसकेपछि कोदो र धानखेतीमा लाग्न आफूले  समय व्यवस्थापन गर्न नसकेको बताए । थापाका बारीमा एक सय ५० कागती ५० सुन्तलाका बोट छन् ।

दैलेखबाट ३ सय ३० मा एउटा बिरुवा खरिद गरेर ल्याएको जानकारी दिँदै वडाध्यक्ष थापाले बृहत् रूपमा किबीखेती गर्ने चाहना सुनाए । किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गर्नुभएका थापाले किबी बजार पठाएपछि फलामबाट बनाइएको थाक्रो राख्ने योजना बनाएको बताए ।

हाल स्थानीय बजारमा प्रतिकेजी २ सय ५० देखि ३ सयमा किबी बिक्री हुँदै आएको छ । किबी बेचेर आफूले हालसम्म २ लाख आर्जन गरेको बताए ।

गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने सिलसिलामा तित्याङको खानीगाउँमा २ हजार ६ सय ओखर एक सय ४० रोपनी जग्गामा लगाइएको थियोभने यो वर्ष नगरपालिकाले किम्बोट क्षेत्रमा ओखर लगाउन १२ लाख बजेट विनियोजन गरेको थापाले जानकारी दिए ।

अलैँची पकेट क्षेत्र विस्तारका लागि १५ लाख बजेट विनियोजन भएको छ । साथै वडा नम्बर ९ तित्याङको साबिक १, २, ३, ४ र ५ वडामा अलैँचीखेती प्रारम्भ भएको छ ।