नुवाकोट । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको यहाँको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् । सुन्तलाको मौसम सुरु भएसँगै बोटबाट प्रतिकिलो एक सयभन्दा बढी मूल्य पाएपछि किसानले सुन्तला टिप्न सुरु गरेका हुन् ।
विगतका वर्षमा मंसिर लागेपछि मात्रै बजारमा पुग्ने सुन्तला अहिले ठूलो एकादशी देवीघाट र दुप्चेश्वर महादेव मन्दिर शिखरवेसीमा लाग्ने जात्रालाई लक्षित गर्दै टिप्न थालिएको म्यागङ-२ बुङ्ताङका किसान छेप्पोन तामाङले बताए ।
उनले अहिले सुन्तलामा ग्लुकोज गुलियोपन पस्न थालेको भन्दै खानयोग्य भएकाले टिप्न थालिएको जानकारी दिए ।
गत वर्ष प्रतिकिलो ८० मा बिक्री भएको सुन्तला यस वर्ष ‘ग्रेडिङ’ नहुँदै एक सयभन्दा बढी पाइपछि बिक्री गर्न थालिएको तामाङले बताए ।
‘व्यवसायीले बगैँचा नै जिम्मा लिन आएपछि बजारको समस्या भएन,’ उनले भने, ‘गत वर्षभन्दा बढी मूल्य पाएका छौँ । यस वर्ष सुन्तलाबाट मनग्य आम्दानी हुने अपेक्षा गरेका छौँ ।’
म्यागङ–२ स्थित बुङ्ताङमा दुई दशकअघि धान फल्ने खेत र मकै, कोदो लगाउने बारी फाडेर सुन्तलाखेती विस्तार गरिएको थियो ।
पछिल्ला वर्षमा यहाँका किसानले जिल्लाका साथै मुलुकका अन्य जिल्लामा पनि सुन्तला पुर्याएर प्रशस्त आम्दानी लिँदै आएका सुन्तलाखेतीका अगुवा किसान गरबहादुर तामाङले बताए ।
‘२०६० सालमा सुरु गरेको सुन्तलाखेतीलाई अरु किसानले नपत्याउँदा व्यावसायिक उत्पादन चुनौतीपूर्ण बनेको थियो । पछिल्लो पाँच वर्षयता बुङ्ताङलाई ‘सुन्तला गाँउ’को नामबाट चिन्न थालिएको छ, अहिले यहाँको सुन्तला गाउँको पहिचान बनेको छ,’ उनले भने ।
सुन्तला यहाँको पहिचान बन्नुका साथै उत्पादन वृद्धि भइरहेकाले गाँउपालिकाले व्यावसायिक खेतीलाई जोड दिँदै आएको उपाध्यक्ष सीता तामाङले बताए ।
उनका अनुसार म्यागङ-२ बुङ्ताङ, वडा नं ४ किम्ताङ, वडा नं ५ र ६ सामरीका किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आइरहेका छन् ।
कम लगानीमा बढी आम्दानी हुने भएकाले यहाँका किसानले अहिले धान लगाउने खेतमा सुन्तलाको व्यावसायिक उत्पादन सुरु गरेका तामाङले बताए ।
किसानलाई गाँउपालिकाले निःशुल्क तथा सहुलियत शुल्कमा बिरुवा उपलब्ध गराउनुका साथै प्राविधिक ज्ञान, तालिम, बजारीकरणलगायत क्षत्रमा सहयोग गर्दै आएको उनले जानकारी दिए ।
तामाङका अनुसार पालिकामा क्रमशः सम्भाव्यता देखिएका अन्य क्षेत्रमा पनि सुन्तलाखेतीको विस्तार गर्ने योजना रहेको छ । एक पटकको लगानी र मुख्य मौसममा गरिने हेरचाहबाट राम्रो उत्पादन लिन सकिने भएकाले जिल्लाको म्यागङसहित आसपासका क्षेत्रमा सुन्तलाखेती विस्तार हुँदै गएको उनले उल्लेख गरे ।
हरेक वर्ष खेती र उत्पादन वृद्धि हुँदै गएको यहाँको सुन्तलाले जिल्लाको मागसहित काठमाडौँ, पोखरालगायत सहरको माग पनि धानिरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।