ललितपुर । दक्षिण-पूर्वी ललितपुरको गोटीखेल बजार बगर बनेको छ । असोज ११ र १२ गतेको टुंगुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो ।
जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट ६ अर्ब रुपैयाँबराबरको भौतिक क्षति भएको महांकाल गाउँपालिका-३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताए । उक्त रकम बराबरको क्षति सार्वजनिक र निजी संरचनामा भएको हो ।
‘त्यहाँ पर खुवा कम्पनी थियो, त्यहीँ वैतर्णी मन्दिर थियो, १०८ शिवलिंग थिए, हवन कुण्ड, पक्की भवन थियो । संस्कृत पढाउने उद्देश्यले निर्माणाधीन पक्की भवनमा ठूलो क्षति भयो,’ वडा कार्यालयबाट औँलाले देखाउँदै अध्यक्ष पराजुलीले भने । निरन्तरको झरीले पहिरोमात्र खसेन धामीखोलामा थुप्रिएको बालुवा, ढुंगा, माटो, रुखसहित बाढी गाउँबस्ती पसेपछि अकल्पनीय क्षति भएको हो ।
बाढीपीडित स्थानीय प्रेम श्रेष्ठले भने, ‘मेरो र भाइ उत्तमको एउटा दुईतले पक्की भवन थियो, अर्को कच्ची दुवै बगे । वन, प्रहरी कार्यालय र सवारीसाधन सबै बगे । बाढीपहिरोमा परेर गाउँका तीन जनाको मृत्यु भयो । उनीहरूका घर भएका स्थान बगरमा परिणत भयो,’ उनले भने ।
२०५३ सालदेखि विद्युत् उत्पादन गरिरहेको साना जलविद्युत गृहमा आंशिक क्षति भएको छ भने बाढीले प्रहरीका दुईवटा आवासीय टहराका साथै हिलसाइड माध्यमिक विद्यालयको भवनमा पनि क्षति भएको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए ।
खानेपानीका अधिकांश ट्यांकी र पाइप नष्ट भएका छन् । दुई हजार तीन सय घरमध्ये ७५ प्रतिशतलाई खानेपानीको व्यवस्था गर्न हम्मेहम्मे परेको छ । हालसम्म बाढीले बगाएका सडकको मर्मतसम्भार नहुँदा मूल सडकमा पुग्न कठिनाइ भएको अध्यक्ष केसीले जानकारी दिए ।
यसैबीच, दैवीप्रकोप पीडितहरूका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ दिएको छ भने संघले क्षतिको आधारमा गाउँपालिकालाई ‘क’ वर्गमा वर्गीकरण गरी एक करोड रुपैयाँ प्रदान गरेको छ । विस्थापितहरुको पुनर्बासका साथै नासिएका मासिएका भौतिक संरचनाको पुनर्निर्माणका लागि बहुवर्षीय योजनाअनुसार काम गर्न संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरिने जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले बताए ।
‘विस्थापितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गर्न आधा रोपनी जग्गा स्थानीय तहले सिफारिस गरिसकेको छ, अब जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषद्बाट निर्णय हुनेमा हामी आशावादी छौँ,’ उनले भने ।