• Menu

मंसिरसम्ममा वाणिज्य बैंकले कमाए २८ अर्ब ६४ करोड नाफा, १४ वटाको नाफा अर्बमाथि

नेपाल प्रफिट

२०८० माघ १, २१:५३

मंसिरसम्ममा वाणिज्य बैंकले कमाए २८ अर्ब ६४ करोड नाफा, १४ वटाको नाफा अर्बमाथि

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पाँच महिनामा साढे २८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । साउनदेखि मंसिरसम्ममा २० वाणिज्य बैंकले २८ अर्ब ६४ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

पाँच महिनाको अवधिमा १४ वटा बैंकले अर्बभन्दा बढी नाफा गरेका छन् भने ६ वटाले अर्ब नघाउन सकेका छैनन् । समीक्षा अवधिमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ भने सबैभन्दा कम कृषि विकास बैंकले कमाएको छ ।

नबिल बैंकको नाफा २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँभन्दा धेरै छ भने सबैभन्दा कम कमाएको कृषि विकास बैंकको नाफा पाँच महिनामा ४० करोड ३८ लाख रुपैयाँ छ ।

त्यस्तै ग्लोबल आइएमईले २ अर्ब ७३ करोड ७९ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ६० करोड ९० लाख रुपैयाँ नाफा कमाएका छन् । प्राइम बैंकले १ अर्ब ९२ करोड ८९ लाख, एनआईसी एसिया बैंकले १ अर्ब ८५ करोड १ लाख र हिमालयन बैंकले १ अर्ब ८० करोड ४९ लाख रुपैयाँ नाफा कमाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रभु बैंकले १ अर्ब ४९ करोड ४५ लाख, एनएमबि बैंकले १ अर्ब ४५ करोड १३ लाख, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४१ करोड १ लाख, एभरेष्टले १ अर्ब ४० करोड ३२ लाख, कुमारी बैंकले १ अर्ब ३० करोड १५ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब २५ करोड ६० लाख, नेपाल बैंकले १ अर्ब २१ करोड ३१ लाख र सानिमा बैंकले १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा कमाएका छन् ।

त्यसैगरी, अर्बभन्दा कम नाफा कमाउनेमा लक्ष्मी सनराइज बैंक ८९ करोड ८० लाख, माछापुच्छ्रे बैंक ७६ करोड २७ लाख, सिटिजन्स बैंक ७४ करोड ३५ लाख, नेपाल एसबिआई बैंक ७० करोड ८० लाख र सिद्धार्थ बैंक ६२ करोड ३८ लाख रुपैयाँ छन् ।