काठमाडौँ । तिहार सकिएलगत्तै काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ ।
छठ पूजाका लागि काठमाडौँका नदी किनार झिलिमिल बत्तीसहित सिङ्गारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण थालिएको छ ।
गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण गरिएको छ । उक्त क्षेत्रमा ५ सय ६७ छठघाट अर्थात् पूजा कक्ष निर्माण गर्न लागिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य चन्द्रकान्त झाले जानकारी दिए ।

उनले भने, ‘हामीले ५ सय ६७ छठ घाट निर्माण गरेका छौँ, आज बिहानसम्म ५ सय ५० वटा स्टल बुक भइसकेका छन् ।’
पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा हुने छठका लागि पशुपति क्षेत्र विकास कोषले ३ लाख उपलब्ध गराउने भएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका कोषाध्यक्ष धीरेन्द्रकुमार गुप्ताले बताए ।
यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको छठ पूजा समाजले जनाएको छ । कमलपोखरीमा २६० वटा टेन्ट बनाएको समितिले जनाएको छ ।
छठका लागि काठमाडौँका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा रहेका नदीहरुको सरसफाइ गरिएको छ ।






तस्बिरहरु कमलपोखरी ।