• Menu

ललितपुरमा ३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

नेपाल प्रफिट

२०८१ कात्तिक २१, बुधबार १२:११

ललितपुरमा ३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

ललितपुर । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुनेभएको छ ।

पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिए ।

यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । ‘यही कातिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक-फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइन्छ । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ’, चित्रकारले बताए ।

नेपाल संवत् ७६१ अर्थात् १६९७ सालमा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । यसको प्रमुख विशेषता हरेक दिन फरक-फरक कथामा आधारित रहेर नाच देखाउनु हो ।

मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनर सिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको उल्लेख छ ।

यो नाच सुरुमा पाँच दिन प्रदर्शन भएको थियो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पुर्‍याएको भनिन्छ ।

अहिले यसको विशेषता बुझेको कलाकार र नाच सञ्चालनका लागि आर्थिक अभावमा १० दिनमा मात्रै सीमित गरिएको चित्रकारको भनाइ छ । यो नाच नेपालको अमूर्त सम्पदा र परम्परागत संस्कृति भएकाले हालसम्म नरोकिएको चित्रकारले बताए ।

‘कार्तिक नाच धार्मिक र तान्त्रिक महत्वसँग पनि जोडिएको छ । यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि लिइन्छ । जुन जातीय सद्भाव कायम राख्ने माध्यम बनेको छ’, उनले भने ।

मल्लकालीन समयमा कात्तिक नाचमा मैथिली भाषामा संवाद गरिन्थ्यो । मैथिली भाषा नेवार समुदायमा नबुझिने भएकाले पछिल्लो समय नेपाली भाषामा उल्था गर्न थालिएको हो ।

यो नाच संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिएको नाच प्रचारप्रसार समितिका संयोजक कलाकार सञ्जय शर्मा राजोपाध्यायको भनाइ छ ।

‘सत्ताइस दिनसम्म कात्तिक नाच सञ्चालन हुने भएकाले संसारको सबैभन्दा लामो नाट्य महोत्सव भएको इतिहासमा पनि उल्लेख छ, तर हाल यस नाचलाई दस दिनमा खुम्च्याइएको छ ।

२००७ सालको जनक्रान्तिपछि यो नाटकलाई केही दिनमा खुम्च्याइयो । २००८ सालदेखि २०३७ सालसम्म दुई दिन मात्रै देखाइयो । यी दुई दिनमा वराह र नरसिंह अवतार देखाइन्थ्यो’, राजोपाध्यायले भने ।

कात्तिक नाच प्रबन्ध समिति गठन भएपछि २०३८ सालदेखि २०६९ सम्म प्रत्येक वर्ष आठ दिन नाच प्रदर्शन भएको राजोपाध्याय बताए । ‘२०७० सालमा दुई दिन वस्त्रहरण र बौद्ध लीला थपेर १० दिन र २०७१ सालदेखि २०७६ सम्म १२ दिन सञ्चालन भएको थियो ।

२०७७ सालमा कोभिड महामारीका कारण दुई दिन मात्रै नाच देखाइएको थियो । यस वर्ष दस दिन देखाइदैछ, २००६ सालयता २७ दिन नै नाच हुन सकेको छैन । सबै २७ दिन गर्न एक वर्ष समय खर्चिनुपर्छ । नाचका लागि अभ्यासमा धेरै समय लाग्छ’, उनले भने ।

लामो समय नाच देखाउन आर्थिक अभाव हुने कलाकार राजोपाध्यायको भनाइ छ । ‘एउटा नाच देखाउन कम्तीमा २० जना कलाकार चाहिन्छ । हामीले कात्तिक नाचलाई जगेर्ना मात्रै गर्न खोजेका हौँ । यसलाई एक महिनासम्म सञ्चालन गर्न सकिने अवस्था तत्काल छैन । कतैबाट आर्थिक सहयोग भए २७ दिनसम्म पनि गर्न सकिन्छ’, उनले भने ।

कलाकारहरुले व्यावसायिक रुपले यस क्षेत्रमा समय दिन नसकेका कारण कार्तिक नाच देखाउन पनि समस्या भएको उनको भनाइ छ ।

‘कलाकारलाई उचित पारिश्रमिक दिन नसकिएको अवस्था छ, कलाकारहरु विदेश पलायन हुँदै जाने समस्याका साथै नयाँ पुस्तामा भाषागत समस्या बढ्दै गइरहेको छ भने अर्कोतर्फ सरकारी पक्षबाट समेत यसका लागि पर्याप्त सहयोग प्राप्त हुन सकेको छैन’, उनले भने ।

नाच संरक्षण समितिले नाचलाई निरन्तरता दिन संस्थागत रुपमा दस करोडको अक्षयकोष स्थापना, कलाकारलाई व्यावसायिक रुपमा अगाडि बढाउने र नयाँ पुस्तालाई भाषागत रुपमा सबल बनाउन प्रशिक्षण दिने लक्ष्य लिएको छ ।

साथै कलाकारलाई पढ्नका लागि छात्रवृत्ति तथा स्वास्थ्य क्षेत्रमा बिमाको व्यवस्था गर्ने समेत रहेको समितिका चित्रकारले बताए ।

अक्षयकोष स्थापनाका लागि ललितपुर महानगरपालिकाले एक करोड, वडा नं १६ ले १० लाख गराइसकेको र वडा नं । ११ ले यसै वर्ष नौ लाख उपलब्ध गराउने भएको छ ।

नाच सञ्चालनका लागि महानगरको उद्योग पर्यटन तथा संरक्षण समितिले ३० लाख, वडा नं । १६ ले ५० हजार, वडा नं । १९ ले ७५ हजार, एनसेन फाउण्डेशनले दुई लाख र सम्झना ल्यावोरोटोरीले ५० हजार उपलब्ध गराउने कलाकार सञ्जय शर्मा राजोपाध्यायले जानकारी दिए ।