काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तीन महिनामा १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० बैंकको नाफा गत आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको तुलनामा २१.६३ प्रतिशतले बढेको हो ।
गत आवको सोही अवधिमा बैंकहरुको नाफा १३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा १२ वटा वाणिज्य बैंकले नाफा बढाएका छन् भने ८ वटाको घटेको छ ।
माछापुच्छ्रे, सानिमा, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया, सिटिजन्स र कृषि विकास बैंकको गत वर्षको पहिलो त्रैमासको तुलनामा नाफा घटेको छ । बाँकी १२ बैंकले भने बढाएका छन् ।
तीन महिनामा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । गत वर्षको साउनदेखि असोजसम्ममा १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको नबिलले चालु आवको सोही अवधिमा २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ कमाएको छ । नबिलले ३९.९७ प्रतिशतले नाफा बढाएको हो ।
धेरै नाफा कमाउने बैंकको सूचीमा ग्लोबल आइएमई दोस्रोमा छ । ग्लोबल आइएमईले तीन महिनामा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ नाफा कमाएको हो । बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढेको छ । गत आवको पहिलो तीन महिनामा ग्लोबल आइएमईले १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ नाफा गरेको थियो ।
सिद्धार्थ बैंकको नाफा सबैभन्दा धेरै ७९१.४३ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो तीन महिनामा ४ करोड २८ लाख ६२ हजार नाफा गरेको सिद्धार्थले चालु आवको सोही अवधिमा ३८ करोड २० लाख ८४ हजार रुपैयाँ कमाएको छ ।
आर्थिक गतिविधि बढ्न नसके पनि रिकभरीमा केन्द्रित भएकाले बैंकहरुको नाफा बढेको बैंकरहरुले बताएका छन् । बैंकहरुको सहजताका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लचकता पनि अपनाएको छ ।
जस्तो कि राष्ट्र बैंकले असल ऋणको धितोमा राख्नुपर्ने १.२ प्रतिशतको नोक्सानी व्यवस्था (प्रोभिजनिङ) लाई १.१ प्रतिशतमा झारेको छ । यसले पनि बैंकहरुको नाफा वृद्धिमा सहयोग पुगेको छ ।
