काठमाडौं । वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याज थप घटाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर बढाएको छ । त्यस्तै १० वटाले घटाएका छन् भने ९ वटाको स्थिर छ ।
बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर असोजको तुलनामा कात्तिकमा औसत ०.२१ प्रतिशत विन्दुले घटाएका छन् । असोजमा अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिकमा ६.१८ प्रतिशतमा झरेको छ ।
कात्तिकका लागि लक्ष्मी सनराइज, प्राइम, कृषि विकास, राष्ट्रिय वाणिज्य, सिटिजन्स, नबिल, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड, एनआईसी एसिया र हिमालयन बैंकले ब्याज घटाएका छन् भने नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, ग्लोबल आईएमई, कुमारी, नेपाल एसबीआई, एभरेस्ट, एनएमबी र प्रभुले स्थिर राखेका छन् ।
कात्तिकका लागि व्यक्तिगत मुद्दतीमा निक्षेपमा पैसा राख्नेलाई माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै ७ प्रतिशत ब्याज दिनेछ । निक्षेपको ब्याजदर घट्दा आधार दर घट्ने भएकाले कर्जाको ब्याजदरमा ऋणीलाई राहत मिल्छ ।
बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम भए पनि कर्जाको माग बढ्न सकेको छैन । फलत: लागत बढ्न नदिन बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका छन् । साउन र भदौमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १.५ प्रतिशत, विकास बैंकहरुको १.१ प्रतिशत र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३ प्रतिशतले मात्र बढेको छ ।
बैंकहरुमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले बोलकबोल र स्थायी तरलता सुविधामार्फत खिचिरहेको छ । साउन र भदौमा मात्रै राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४२४ अर्ब ७५ करोड र स्थायी निक्षेप सुविधामार्फत ६२७० अर्ब ४० करोड गरी ६६९५ अर्ब १५ करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको छ ।
