सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका-४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए । उनी लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दै आएका छन् । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दै आएका छन् ।
उनले भने, ‘सिलौटा बनाउने हाम्रो पुख्र्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदैआएको छु ।’
इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुंगाका सामाग्री बिक्री गर्दै आएका छन् । नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायताबाट उनले ढुंगालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दै आएका छन् । उनले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राखेका छन् ।
‘विदेशमा गएर दुःख गर्नुभन्दा यही पुख्र्यौली पेसा सिलौटो व्यापारबाट आम्दानी गर्दैआएको छु, दिनभर यही बसेर सामाग्री तयार गर्छु, बेलुका घर फर्किन्छु । अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान लाउन पुगेको छ । आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ,’ सन्तराजले भने ।
सन्तराजले दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँदै आएका छन् । ‘कहिले चार-पाँच वटासम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन । व्यापार हो, सधैँ एकनास हुँदैन,’ उनले भने ।
लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गरेका छन् । सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीगायतका स्थानबाट ल्याउने गरेको उनले बताए ।
व्यापारबाट घर खर्च कटाएर मासिक ४० हजारसम्म आम्दानी हुँदै आएको सन्तराजले जानकारी दिए । उनले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाएका छन् । छोराले पनि उहाँलाई साथ दिँदै आएका छन् । ‘पुख्र्यौली पेसाको संरक्षण पनि भयो । साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ,’ उनले भने ।
सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गर्नुभएको छ । एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ ।
उनले एउटा सिलौटो ४ सयदेखि ५ सय ५० सम्ममा बिक्री गर्दै आएका छन् । एक जोर जाँतो एक हजारदेखि एक हजार ३ सय सम्ममा बिक्री गर्दै आएका छन् । आफ्नो व्यवसाय संकटमा पर्दै गएको उनको भनाइ छ । कुटानी पिसानीका लागि विभिन्न उपकरण बजारमा आएसँगै सन्तराजको पेसा संकटमा परेको हो ।