• Menu

वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ९.५२ प्रतिशत

नेपाल प्रफिट

२०८१ असोज ३०, बुधबार ११:०९

वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ९.५२ प्रतिशत

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ९.५२ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८१ भदौमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ९.५२ प्रतिशत, विकास बैंकहरुको १०.८९ प्रतिशत र वित्त कम्पनीहरुको १२.१४ प्रतिशतमा झरेको हो ।

२०८० भदौमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.२३ प्रतिशत, विकास बैंकहरुको १३.९९ प्रतिशत र वित्त कम्पनीहरुको १४.६८ प्रतिशत थियो ।

२०८१ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.५३ प्रतिशत, विकास बैंकहरुको ६.३१ प्रतिशत र वित्त कम्पनीहरुको ७.५५ प्रतिशत छ । २०८० भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.०६ प्रतिशत, विकास बैंकहरुको ९.४३ प्रतिशत र वित्त कम्पनीहरुको १०.२७ प्रतिशत थियो ।

२०८१ भदौमा वाणिज्य बैंकहरुको औसत आधार दर ७.४९ प्रतिशत, विकास बैंकहरुको ९.१५ प्रतिशत र वित्त कम्पनीहरुको १०.६५ प्रतिशत छ । २०८० भदौमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.१४ प्रतिशत, विकास बैंकहरुको १२.१२ प्रतिशत र वित्त कम्पनीहरुको १३.५२ प्रतिशत थियो ।

बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह गर्न पाउँछन् । तर, अहिले कर्जाको माग न्यून भएकाले बैंकहरुले ०.५ प्रतिशतमात्रै प्रिमियम थप गरेर कर्जा दिइरहेका छन् ।

२०८० भदौमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ५.९५ प्रतिशत रहेकोमा २०८१ भदौमा २.८९ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० भदौमा ५.८८ प्रतिशत रहेकोमा २०८१ भदौमा ३.०० प्रतिशत छ ।