एजेन्सी । अमेरिकी सेन्ट्रल बैंक (फेडेरल रिजर्भ सिस्टम-फेड)ले टिडी बैंकलाई ३ अर्ब १० करोड अमेरिकी डलर जरिवाना गरेको छ । तस्कर र आतंकवादीलाई सहयोग गरेको आरोपमा फेडले अमेरिकाको टिडी बैंकलाई हालसम्मकै ठूलो जरिवाना गरेको हो । यो जरिवाना रकम ४ खर्ब १५ अर्ब ४० करोड नेपाली रुपैयाँभन्दा बढी हो ।
बैंक गोप्यता ऐन (बैंक सेक्रेसी एक्ट-बीएसए) र एन्टी मनी लाउन्डरिङ (एएमएल) सम्बन्धी कानुनहरु उल्लंघन गरेको आरोपमा टिडी बैंकलाई १.८ बिलियन (२ खर्ब ४१ अर्ब २० करोड रुपैयाँ) जरिवाना गरिएको छ । सोही आरोपमा टिडीलाई फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले पनि १.३ बिलियन (१ खर्ब ७४ अर्ब २० करोड रुपैयाँ) जरिवाना गरेको छ ।
यूएस महान्यायाधिवक्ता मेरिक गारल्यान्डले टिडी बैंकले अपराधीहरुलाई सहयोग गरेर अमेरिकी इतिहासमै सबैभन्दा ठूलो गलत गरेको बताएका छन् । बैंक गोप्यता ऐन र एन्टी मनी लाउन्डरिङमा टिडी बैंक दोषी ठहर हुनु अत्यन्तै दु:खद् भएको उनको भनाइ छ ।
फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्कले अमेरिकी ट्रेजरी र फिनसेन इतिहासकै निक्षेप संस्थाविरुद्धको सबैभन्दा ठूलो जरिवाना भएको बताएको छ । टिडी बैंकले सन् २०१४ देखि २०२३ सम्म नै एएमएल नीतिको उल्लंघन र अरु सञ्चालनगत त्रुटी गरिरहँदा पनि नियामक उचित कारबाही गर्न असफल भएको जनाइएको छ ।
टिडी बैंकका वरिष्ठ कार्यकारीहरुले नाफा र जोखिम प्रोफाइलअनुसार हरेक वर्ष बजेटको साइज बढ्न आवश्यक नरहेको उल्लेख गरेको अनुसन्धानमा देखिएको छ । त्यस्तै बैंकले एएमएल नीति कागजमा मात्र सीमित राखेको र कार्यक्रमहरुमा जानाजान त्रुटी गरेकाले वित्तीय अपराधका दोषीहरूलाई सजिलो भएको नियामकहरुले जनाएका छन् ।
टिडी बैंकले सन् २०१८ जनवरी १ देखि २०२४ अप्रिल १२ सम्ममा करिब १८३ खर्ब अमेरिकी डलर अनुचित लेनदेन गतिविधिमा प्रयोग गरेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सन् २०१९ र २०२३ मा तीनवटा मनी लाउन्डरिङ नेटवर्कहरूलाई टिडी बैंकका खाताहरुमार्फत सामूहिक रुपमा ६७ करोड अमेरिकी डलरभन्दा बढी स्थानान्तरण गर्न अनुमति दिइएको पनि जनाइएको छ ।
त्यसैगरी सन् २०१८ जनवरीदेखि २०२१ फेब्रुअरीसम्म मनी लाउन्डरिङ नेटवर्कसम्बन्धी खाताहरुमा ठूलो रकम जम्मा गरेर बैंकमार्फत ४७ करोड अमेरिकी डलरभन्दा बढी शुद्धीकरण गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।
टिडी बैंक जानाजान बीएसए र फिनसेनको सफल कार्यान्वयनका लागि अनिवार्य रहेको एएमएल कार्यक्रम लागू गर्न र कायम राख्न असफल भएको फिनसेनले जनाएको छ । वित्तीय संस्थाहरूको विशाल बहुमतले अमेरिकी वित्तीय प्रणालीको अखण्डताको रक्षा गर्न फिनसेनसँग गरेको साझेदारीलाई टिडी बैंकले बेवास्ता गरेको ट्रेजरीका उपसचिव वाली अडेमोले बताएका छन् । टिडी बैंकका गतिविधि फेन्टानिल र लागूऔषधको तस्करीदेखि आतंकवादी वित्तपोषण र मानव बेचबिखनसम्मका लागि उर्वर बनेको उनले उल्लेख गरेका छन् ।
टिडी बैंक अमेरिकाको बहुराष्ट्रिय टीडी बैंक समूहको सहायक कम्पनी हो । यसले आफूलाई अमेरिकाकै सबैभन्दा सुविधाजनक बैंक भन्ने गरेको छ ।